
काठमाडौँ ।चर्चित जनवादी गायक जीवन शर्मा नेकपा माओवादी केन्द्रको अभियानमा पुगेर जनताका गीत गाएका छन् । मध्यपहाडी लोकमार्ग केन्द्रित माओवादीको अभियान बुधबार रोल्पाको थवाङ पुगेको थियो ।
जनयुद्धको उदगमस्थलको रुपमा चिनिएको थवाङमा अभियान टोलीलाई स्थानीयले भव्य स्वागत गरेका थिए । थवाङमा आयोजित कार्यक्रममा जीवन शर्माले नेता र जनतालाई सँगै नचाए ।
जब शर्माले चर्चित गीत ‘सिमली छायाँमा बसी…’ गीत गाए, तब प्रचण्डसहितका नेताहरु जनतासँग छमछमी नाचे ।
शर्माका गीतसँगै अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाथजी श्रेष्ठ, उपाध्यक्ष तथा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङ, उपमहासचिव वर्षमान पुन, सचिव तथा लुम्बिनी प्रदेशका इन्चार्ज चक्रपाणि खनाल पनि जनतासँगै नाचेका थिए ।
अभियान टोली रोल्पामै बास बसेको छ । आज विभिन्न कार्यक्रममा सहभागी भएर बागलुङ हुँदै अगाडि बढ्ने नेताहरुले बताएका छन् ।