
दैलेख । नेकपा (माओवादी केन्द्र)को मध्यपहाडी लोकमार्ग केन्द्रीत अभियान कर्णाली प्रदेशको दैलेख पुगेको छ । अध्यक्ष प्रचण्डको नेतृत्वमा रहेको अभियान टोली सुदूरपश्चिमको अभियान सकेर आज विहान राकम कर्णाली हुँदै लैखेक पुगेको हो ।
राकम कर्णाली पुलमा कर्णाली प्रदेशका नेताहरुले अभियान टोलीलाई भव्य स्वागत गरेका थिए । स्थानीय जनसमुदायले आफ्ना मौलिक पहिरन र बाजागाजासहित अभियान टोलीको स्वागत गरेका थिए ।
माओवादी केन्द्र दैलेखका अनुसार दिउँसो जनसभा र जनसंवाद कार्यक्रम तय गरिएका छन् ।
बैतडीको पाटनमा उद्घाटन कार्यक्रममा कम्युनिस्ट पार्टीको झण्डा र नेपालको राष्ट्रिय झण्डा फहराइएको थियो। उक्त झण्डा सुदूरपश्चिम इञ्चार्ज गिरिराजमणि पोखरेल नेतृत्वको टिमले कर्णाली इञ्चार्ज कालीबहादुर मल्ल नेतृत्वमा रहेको टिमलाई हस्तान्तरण गरेका थिए ।
अछामबाट बिदाई हुँदै अध्यक्ष प्रचण्डले सुदूरपश्चिम प्रदेशप्रति धन्यवाद व्यक्त गरेका थिए ।
आजै विहान बिनायक बजारमा जनसंवाद तथा पञ्चदेवल विनायक नगरपालिकाले आयोजना गरेको स्वागत कार्याक्रमलाई प्रचण्डले सम्बोधन गरेका थिए ।