
अछाम । नेकपा (माओवादी केन्द्र) को मध्यपहाडी लोकमार्ग अभियान आज डोटीका कार्यक्रम सकेर अछाम आइपुग्न लागेको छ । डोटीमा हुने जनसंवाद कार्यक्रम सकेर अभियान टोली दिउँसो अछाम पुगेर विभिन्न कार्यक्रममा सहभागी हुने भएको छ ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य दिपक साउदका अनुसार अध्यक्ष प्रचण्डसहितको अभियान टोलीलाई अछम प्रवेशढोका चौखुट्टेमा भव्य स्वागत गरिनेछ ।
त्यसपछि साँफेबगरमा जनसभालाई अध्यक्ष प्रचण्डसहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको साउदले जानकारी दिए । त्यसअघि अछामका प्रतिष्ठत व्यवसायी खेमराज कुँवरको घरमा पुगेर समवेदना दिने कार्यक्रम तय गरिएको छ ।
साउदका अनुसार साँफेबगरको जनसभालाई सकेर अभियान टोलीले बयलपाटा अस्पतालको निरीक्षण गर्ने र मंगलसेनमा जनसंवाद कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको छ ।
अभियान टोली आज विनायक बजारमा बास बस्ने छ । ‘साँफेबगर-मंगलसेनका कार्यक्रम सकेर अभियान टोली बास बस्न बिनायक बजार पुग्नेछ, त्यसको सम्पूर्ण तयारी भइसकेको छ’ साउदले भने ।