
काठमाडौं । अघिल्लो सरकारले छानबिन सुरु गरेको काठमाडौंको नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
बुधबार जिल्ला सरकारी वकिलको कार्यालयले नेपाली काँग्रेसका तत्कालिन नेता गणेशमान सिंहकी छोरी तथा उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी रिता सिंह वैद्यसहित १७ जनाविरुद्ध मुद्दा दर्ता गरिएको हो ।
काठमाडौं जिल्ला अदालतमा दर्ता गरिएको मद्दा सरकार परिवर्तन भएसँगै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरेर सम्झौता रद्द भएको भन्दै मुद्दा नचलाउने निर्णय गर्दै प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाएको थियो ।
तर, सरकारले दोषीलाई बचाउन खोजेको भन्दै चौतर्फी विरोध भएपछि महान्यायाधिवक्ताको कार्यालयले मंगलबार मात्र मुद्दा चलाउने निर्णय गरेको थियो ।
भारतीय नागरिकहरूमा ४४ वर्षीय अभिनव सिंघानिया, ४४ वर्षीय सिद्धार्थ केडिया र ७१ वर्षीय कीर्तिप्रसाद पाण्डेय उक्त प्रकरणमा दोषी भएको भन्दै मुद्दा दर्ता गरिएको हो । तीनै जना बृहस्पति विद्यासदनका सञ्चालकहरू हुन् ।
सिंघानिया काठमाडौंको बालुवाटार, केडिया ललितपुर सानेपा र पाण्डेय काठमाडौंको ज्ञानेश्वरमा बस्दै आइरहेका छन् । उनिहरुले यसरी नै नेपालका सार्वजनिक जग्गामा आँखा लगाउँदै आएको बताइएको छ ।
यी हुन् उक्त प्रकरणमा दोषी भन्दै मुद्दा दर्ता गरिएका व्यक्तिहरुः
१. रिता सिंह
२. तुलसी नारायण श्रेष्ठ
३. गणेशभक्त श्रेष्ठ
४. कृष्ण शंकर साह
५. श्याम कुमार आले
६. सुवास कुमार पोखरेल
७. प्रचण्ड राज प्रधान
८. राम काजी गुरुङ
९. योगेन्द्र बहादुर शाही
१०. दीपक दास श्रेष्ठ
११. प्रविण राज जोशी
१२. मुरारी निधि तिवारी
१३. पुरुषोत्तम राज जोशी
१४. श्रद्धा संघाई
१५. अभिनव सिंघानिया (भारतीय नागरिक)
१६. सिद्धार्थ केडिया (भारतीय नागरिक)
१७. कीर्ति प्रसाद पाण्डेय (भारतीय नागरिक)