
सुर्खेत — समाजवादी मोर्चा नेपाल कर्णाली प्रदेशले आज एक विशेष कार्यक्रममा मोर्चाको नेतृत्व जिम्मेवारी नेकपालाई हस्तान्तरण गरेको छ। अब नेकपाको तर्फबाट पार्टीका कर्णाली प्रदेश इन्चार्ज तथा स्थायी समिति सदस्य कर्णजित बुढाथोकी (सुशील सि) ले मोर्चाको नेतृत्व गर्ने भएका छन्।
यसअघि समाजवादी मोर्चाको संयोजक नेकपा (समाजवादी) कर्णाली प्रदेश अध्यक्ष ठगेन्द्र प्रकाश पुरीले सम्हाल्दै आएका थिए। मोर्चाभित्र समन्वय र सहकार्यलाई सुदृढ गर्न संयोजकको जिम्मेवारी आलोपालो गर्ने प्रचलन रहेको मोर्चाले जनाएको छ।
हाल कर्णाली प्रदेशमा समाजवादी मोर्चामा नेकपा (माओवादी केन्द्र), नेकपा (समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी सक्रिय छन्।
नेतृत्व हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नयाँ संयोजक सुशील सि ले कर्णालीका जनताको अधिकार, विकास, सुशासन र न्यायका लागि मोर्चालाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता जनाए। उनले समाजवादी आन्दोलनलाई प्रदेशभर सशक्त बनाउने तथा संविधान र संघीयताको संरक्षणमा मोर्चाले निर्णायक भूमिका खेल्ने बताए।