
काठमाडौं । एमएडब्लु इन्टरप्राईजेज प्रालिका मालिक विष्णुकुमार अग्रवालले डेढ करोडको सुविधा सम्मपन्न गाडी कब्जा गरेको आरोप लागेको छ ।
शुक्रबार राजधानीको संवाद डबलीमा पीडित निरज केसीले २०८१ असोज १७ गतेदेखि सो इन्टरप्राईजेजले कब्जामा लिएको बताएका हुन् ।
बैंकबाट किस्ताबन्दीमा किनेको बा २५ च २६६२ नम्बरको जीप कम्पास गाडी असोज महिनादेखि सर्भिसिङको नाममा कम्पनीले कब्जा गरिराखेको केसीले बताए । केसीका अनुसार २०८१ असोज १२ र १३ गते काठमाडौंलगायतका ठाउँहरुमा परेको वर्षामा घरमा पार्किङ गरिरहेको अवस्थामा गाडीमा सामान्य पानी पसेको थियो । पानी पसेको जानकारी गरेपछि कम्पनीकै व्यक्ति घरमै पुगेर एमएडब्ल्यूको अधिकारीक सर्भिस सेन्टर लाईफ अटो मोबाईल बसुन्धाराले लगिएको थियो ।
सुरुमा सामान्य क्षतिमात्रै भएको बताउँदै केही दिनमै मर्मत गरेर गाडी केसीलाई हस्तान्त्रण गर्ने जानकारी गराइयो । तर, अहिलेसम्म आफूले गाडी नपाएको केसीले गुनासो गरे । आफूले गाडी माग्दा उल्टै कम्पनीका आधिकारिक व्यक्तिहरुबाट धम्की आउने गरेको केसीले बताए ।
“बाढीमा गाडीमा सामान्य पानी पसेपछि मैले कम्पनीलाई जानकारी गराएँ, कम्पनीको नियमअनुसार उतैबाट आएर ९ हजार तिराएर गाडी लिएर गएको ८ महिना भइसक्दा पनि मैले गाडी पाएको छैन । सुरुका केही दिनसम्म नयाँ गाडी दिनुहुन्छ भन्थे, न मेरो गाडी बनाएर दिए न नयाँ” केसीले भने ।
बीमाबाट गाडीको क्षतिपूर्ती पनि आफूलाई लिन नदिएर गैरकानुनी कार्य गर्न लागेको शंका लागेको बताउँदै केसीले भने, “मलाई गाडी मेन्टिनेन्स गरेर पनि दिइएन । न त बीमा क्लेम गर्न नै दिइयो । यत्रो महिनासम्म मेरो गाडी नदिनुका पछाडी उनिहरु कतै गैरकानुनी कार्य त गर्नुभएको छैन शंका उब्जिएको छ ।”
गाडीका लागि कुरा गर्दा तल्लोतहका कर्मचारीदेखि सिइयोलाई पटकपटक आग्रह गर्दा जे सक्छस् गर भन्ने जवाफ दिने गरेको केसीले बताए । “कम्पनीले गाडी नदिएपछि मैले अदालत जान्छु भन्दा, एमएब्लुका १ सय वटा मुद्दा छन् तपाईँले हाले एउटा त थपिन्छ भन्नुहुन्छ, यो कस्तो दादागिरी हो, मान्छे लगाएर मिडियासिडिया गए ठिक हुन्न भन्दै धम्की दिन्छन्” केसीले भने ।
नेपाल उद्योग परिसंघका पूर्वअध्यक्षसमेत रहेका एमएडब्लुका मालिक विष्णु कुमार अग्रवालको पछाडि ठूलो शक्तिको हात रहेकोसमेत केसीको आरोप छ । केसीले सो कम्पनीले करछलि गरेको आशंकासमेत गरेका छन् । अग्रवालको एमएडब्लु इन्टरप्राईजेजले यामाहाको स्कुटर, बाईक, जेसीबी, जीप, स्कोडालगायतका उच्च सुविधा सम्पन्न सवारी साधनहरुको आधिकारिक बिक्रेता कम्पनी रहेको छ ।