
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले शिक्षकहरुका माग पूरा गर्न सरकारलाई दबाब सिर्जना गर्ने निर्णय गरेको छ । विहीबार सिहदरबारमा बसेको संसदीय दलको बैठकले शिक्षकका माग पूरा गर्न सरकारले नचाहेको निष्कर्ष निकाल्दै दवाव दिने निर्णय गरेको हो ।
पार्टी अध्यक्ष तथा संसदीय दलका नेता प्रचण्डले शिक्षकहरुका मागहरु सम्बोधन गर्न सांसदहरुलाई जिम्मेवार भूमिका निर्वाह गर्न निर्देशन समेत दिए ।
संघीय निजामती सेवा ऐन र विद्यालय शिक्षा विधेयकजस्ता महत्वपूर्ण विधेयकहरू माओवादी नेतृत्वको सरकारले गहिरो तयारीपछि प्रस्तुत गर्दैै प्रचण्डले विधेयक पारित गराउन सबै सांसदहरू सक्रिय हुनुपर्नेमा जोड दिए ।
त्यसैगरी अध्यक्ष प्रचण्डले यथास्थिति र प्रतिगामी प्रवृत्तिविरुद्धको संघर्षमा जनताको पक्षमा विजय भएको बताउनु भएको छ। बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक परिदृश्य, सरकारको कार्यशैली, पार्टीको भूमिका र जनअपेक्षाबारे सांसदहरूसँग विस्तृत छलफल गर्नुभएको हो।
अध्यक्ष प्रचण्डले अघिल्लो संसद् अधिवेशनमा प्रधानमन्त्री संसदमा जवाफ नदिने अडानमा रहँदा माओवादी केन्द्रको स्पष्ट अडान र दबाबकै कारण दुबै सदनमा उपस्थित भई जवाफ दिन बाध्य बनाउन सफल भएको प्रचण्डले उल्लेख गरे ।
पार्टीले सञ्चालन गरेको यथास्थिति र प्रतिगामी प्रवृत्तिविरुद्धको अभियान सफल भएको दाबी गर्दै हुलाकी राजमार्ग केन्द्रित अभियान र काठमाडौंमा आयोजित जनप्रदर्शनमा व्यापक जनसमर्थन देखिएको बताएको बताउँदै प्रचण्डले काठमाडौंमा यथास्थिति र प्रतिगमनविरुद्ध आयोजना गरिएको विशाल जनप्रदर्शनमा समाजवादी मोर्चाभित्र देखिएको एकताले पार्टीको गरिमा अझ उचो बनाएको बताए ।
अध्यक्ष प्रचण्डले शिक्षक, चिकित्सक तथा लघुवित्त पीडितहरूसँग संवाद भइरहेको जनाउँदै सरकार समस्याको समाधानतर्फ नगई उल्टै जटिलता बढाउने दिशामा गएको आरोप लगाए । साथै, प्रधानमन्त्रीले आन्दोलनरत शिक्षकहरूसँगको संवादमा आफ्नो नाम जोडेर टिप्पणी गर्नु दुर्भाग्यपूर्ण रहेको प्रचण्डले टिप्पणी गरे ।