आज :

कालिकोटमा स्ववियु चुनाव: कांग्रेस–एमाले गठबन्धनलाई माओवादी विद्यार्थीको चुनौती

  • देविराम देवकोटा

कालिकोट । त्रिभुवन विश्वविद्यालय अन्तर्गत यही चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा कालिकोटमा कांग्रेस र एमाले निकट विद्यार्थी संगठनहरूले माओवादी विरुद्ध गठबन्धन गरेका छन्। पछिल्ला केही चुनावहरूमा सत्तारूढ दल कांग्रेस र एमाले मिलेर माओवादीलाई रोक्न साझा उम्मेदवारी दिन थालेका छन्। स्थानीय तहको उपचुनावदेखि नेपाल पत्रकार महासंघको चुनावसम्म उनीहरूले यही रणनीति अपनाएका थिए। अहिले विद्यार्थी राजनीतिमा पनि त्यही रणनीति दोहोरिएको छ।

अघिल्ला चुनावमा कहिले कांग्रेस–माओवादी, कहिले एमाले–माओवादी गठबन्धन हुने गर्थ्यो। तर, यस पटक कांग्रेस र एमालेको हात मिलाइले नयाँ गठबन्धन जन्माएको छ।

कालिकोटमा किन आवश्यक भयो गठबन्धन?

कालिकोट ऐतिहासिक रूपमा माओवादीको प्रभाव रहेको जिल्ला हो। स्थानीय तहदेखि संघीय तहसम्म माओवादी बलियो रहँदै आएको छ। विद्यार्थी राजनीतिमा पनि यसको अपवाद छैन। कालिकोटका दुवै क्याम्पस — नरहरिनाथ गाउँपालिकाको नन्दादेवी बहुमुखी क्याम्पस र सान्नी त्रिवेणी गाउँपालिकाको जनचेतना बहुमुखी क्याम्पसमा माओवादी निकट अखिल (क्रान्तिकारी) प्रभावशाली छ।

यसअघि कांग्रेस र एमालेले विद्यार्थी राजनीतिमा एक्लाएक्लै प्रतिस्पर्धा गरेका थिए। तर, पछिल्ला चुनावहरूमा माओवादीलाई रोक्न उनीहरूबीच गठबन्धन बनेको छ। खासगरी, माओवादी बलियो भएको ठाउँमा कांग्रेस–एमाले मिलेर चुनाव लड्ने र माओवादी कमजोर भएको ठाउँमा भने एकल चुनाव लड्ने रणनीति उनीहरूले अपनाउन थालेका छन्।

गठबन्धनले दिने सन्देश

कांग्रेसका नेता गगन थापाले विगतमा पटक–पटक भनेका थिए, “सरकार बनाउन बाहेक चुनावमा कहिल्यै गठबन्धन गरिन्न।” तर, उनको यो भनाइ अहिले फिक्का बनेको छ। कांग्रेस–एमाले गठबन्धनले राजनीतिक स्वार्थ झल्काउँछ। स्थानीय स्तरमा शक्ति सन्तुलन कायम राख्न र माओवादी बलियो भएको ठाउँमा उसको वर्चस्व रोक्नका लागि कांग्रेस र एमाले मिलेर चुनाव लड्ने रणनीति बनाएका छन्।

माओवादीको प्रतिक्रिया

माओवादी कालिकोटका संयोजक डम्बर बहादुर शाही भन्छन् —
“कांग्रेस र एमाले मिले पनि हामीलाई फरक पर्दैन। स्थानीयदेखि संघीय चुनावसम्म उनीहरू गठबन्धन गर्न सक्छन् । अब अरू चुनावमा पनि गर्लान्, त्यसले माओवादीलाई खासै असर नगर्ने बरु उनीहरू नै कमजोर भएका कारण गठबन्धन गरिरहेका हुन् भन्ने कुरा प्रष्ट हुन्छ।”

माओवादीले यसलाई बाहिरी रूपमा सामन्य भनेपनी भित्री रूपमा यो गठबन्धनलाई गम्भीरतासाथ लिएको देखिन्छ। यदि कांग्रेस–एमाले मिलेर माओवादीलाई विद्यार्थी राजनीतिमा कमजोर बनाउन सकेमा, यसको असर दीर्घकालीन रूपमा स्थानीय राजनीतिमा पनि पर्न सक्छ।

चुनावमा असर र आगामी संकेत

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य तथा वरिष्ठ पत्रकार तुलाराम पान्डेयका अनुसार कांग्रेस–एमालेको गठबन्धन प्रभावकारी देखिँदैन। तर, माओवादी बलियो भएको ठाउँमा कांग्रेस–एमालेबीच तालमेल हुनसक्ने उनले बताए।

यस गठबन्धनले कालिकोटको चुनावमा प्रतिस्पर्धा थप रोचक बनाएको छ। एकातिर कांग्रेस–एमालेको संयुक्त उम्मेदवारी छ भने, अर्कोतिर माओवादी निकट अखिल (क्रान्तिकारी) को नेतृत्वमा नेकपा (समाजवादी) निकट विद्यार्थी संगठनको गठबन्धन छ।

कालिकोटको स्ववियु निर्वाचनले आगामी अन्य चुनावमा समेत गहिरो असर पार्ने विश्लेषकहरू बताउँछन्। कांग्रेस र एमालेको गठबन्धन स्ववियु चुनावमा सफल भए, कालिकोटमा अन्य चुनावमा पनि यही रणनीति दोहोरिन सक्छ। किनकि स्ववियु निर्वाचनलाई मिनि निर्वाचनका रूपमा हेरिन्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal