
कालिकोट । कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका वडा नम्बर ४, तिकुवाकी पुल्तिदेवी ऐडी अहिले गाउँमा प्रेरणाको स्रोत बनेकी छिन्। कहिल्यै कल्पना नगरेको बाटोबाट यात्रा सुरु गरेकी उनले सिलाइ–कटाइमा आफ्नो पहिचान मात्र बनाइनन्, गाउँमै आत्मनिर्भर बनेर अरूलाई पनि आत्मनिर्भर बनाउने अभियानमा जुटेकी छिन्।
संघर्षको आरम्भ: जनमुक्ति सेनादेखि शिक्षा यात्रासम्म
२०५७ सालमा मुलुकमा माओवादी जनयुद्ध उत्कर्षमा चलिरहेको बेला पुल्तिदेवी पनि त्यस आन्दोलनमा सहभागी भइन्। जनमुक्ति सेनामा कम्पनी कमान्डरसम्मको जिम्मेवारी सम्हालेकी उनले सातौँ डिभिजनअन्तर्गत कैलालीको मुसुरिया, बढैपुरमा समय बिताइन्। युद्धको मैदानमा खारिएकी उनी अवकाशपछि बर्दियाको भुरिगाउँमा बस्न थालिन्। लडाइँ सकियो, तर जीवनको संघर्ष बाँकी नै थियो।
२०६९ सालमा उनले पुनः कलम समातिन् र मुम्रामा आठ कक्षामा भर्ना भइन्। पछि पञ्चदेवल मावि, मेहलमुडीबाट १२ कक्षा पूरा गरिन्। शिक्षा हासिल गर्ने क्रममा उनले आफ्नो जीविकोपार्जनको बाटो पनि सँगसँगै अगाडि बढाइन्।
सिलाइ–कटाइमा नयाँ जीवनको खोजी
२०७० सालमा बर्दियामै बस्दा पुल्तिदेवीले सिलाइ–कटाइ तालिम लिइन्। सुरुमा जेनतेन परिवार पाल्नका लागि उनले यही सीपलाई पेसा बनाइन्। २०७४ सालसम्म उनले बर्दियामै काम गरिरहिन्। तर, सपना गाउँमै केही गर्ने थियो। त्यसैले २०७५ सालमा उनले नेपालगन्जमा ‘डीपी टेलर्स एन्ड ट्रेनिङ सेन्टर’ नामक फर्म दर्ता गरिन्।
गाउँ फर्केर आफ्नै माटोमा केही गर्नुपर्छ भन्ने सोचले उनले बर्दियाको घर-जग्गा बेचेर सान्नी त्रिवेणी (गाउँ) फर्कने निर्णय गरिन्। गाउँमा सिलाइ–कटाइ व्यवसायिक रूपमा अगाडि बढाउन उनले २ लाख ५० हजार रुपैयाँ लगानीमा १२ वटा मेसिन किनेकी छिन्। अहिले उनलाई सिलाइ–कटाइको काममा भ्याइनभ्याई छ। यही कामबाट उनी मासिक ३० हजार रुपैयाँ कमाउँछिन्, जसबाट २५ हजार रुपैयाँ बचत गर्न सफल छिन्। त्यसको साथै, विभिन्न संघसंस्थाले उनलाई तालिमका लागि प्रशिक्षकका रूपमा समेत नियुक्त गर्दै आएका छन्, जसबाट उनलाई थप आम्दानी हुने गरेको छ।
सफलताको बाटोमा नयाँ उज्यालो
पुल्तिदेवी अहिले गाउँका अन्य महिलाहरूलाई पनि आत्मनिर्भर बनाउन प्रतिबद्ध छिन्। किर्डाक नेपाल, प्लान नेपाल र लो लिमिटजस्ता संघसंस्थाहरूको सहयोगमा उनले हालसम्म ३०० भन्दा बढी महिलाहरूलाई सिलाइ–कटाइ तालिम दिइसकेकी छिन्। तीमध्ये कतिपय महिलाले आफ्नै व्यवसाय सुरु गरेका छन्।
हाल उनले मेहलमुडीमा किर्डाक नेपालको सहयोगमा ५ जनालाई र उज्जेलगाउँमा लो लिमिट संस्थाको सहयोगमा ५० जनालाई नियमित रूपमा तालिम दिइरहेकी छिन्। सिलाइ–कटाइ तालिममा तीन स्तर हुन्छन्, र उनले दोस्रो स्तरको तालिम हासिल गरिसकेकी छिन्।
परिवार र भविष्यप्रतिको जिम्मेवारी
पुल्तिदेवीको सफलता उनको परिवारमा पनि देखिन्छ। उनकी छोरी काठमाडौंमा स्टाफ नर्स पढ्दै छिन् भने छोरा ९ कक्षामा अध्ययनरत छन्। परिवार सम्हाल्दै, व्यवसायलाई अगाडि बढाउँदै, र समुदायलाई सक्षम बनाउँदै उनले आफ्नो जीवनलाई उदाहरणीय बनाएकी छिन्।
समाजमा प्रेरणाको स्रोत
आज पुल्तिदेवी ऐडी एक सफल उद्यमी मात्र होइनन्, उनी गाउँभरिका महिलाहरूका लागि प्रेरणाको स्रोत पनि हुन्। उनको यात्रा एउटा सन्देश हो — आत्मनिर्भरताको सपना देख्ने हिम्मत राख्ने हो भने, त्यो सपना साकार पार्न कुनै अवरोधले छेक्दैन ।