
काठमाडौं । काठमाडौंको वसन्तपुर अगाडि विधिवत् रूपमा चीर ठड्याएसँगै फागु पर्व सुरु भएको छ ।
आज फागुन शुक्ल अष्टमी बसन्तपुर हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ ८ : ३३ मिनेटको शुभ साइतमा विधिवत रुपमा रंगीविरंगी कपडाको ध्वजासहितको चीर ठड्याइपछि औपचारिक रूपमा फागु पर्व सुरु भएको हो ।
चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाई गरिएको थियो । प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन मानन्धर समुदायको धालासिकु गुठिका गुठियार , स्थानीय परम्परागत बाजागाजा सहित रंगीविरंगी कपडाका टुक्रासहित सजाइएको बाँसको तीन खण्डे चीर ठड्याएपछि देशभर होली प्रारम्भ भएको मानिन्छ । साइतअनुसार नै चीर ठड्याउने गरिएको र त्यसपछि विधिवत् रूपमा फागु पर्व सुरु हुने मान्यता रहेको स्थानीयहरूको भनाइ छ ।
चन्द्र मासअन्तर्गत फागुन पूर्णिमाको दिन मनाइने फागु यही फागुन २९ गते काठमाडौं उपत्यकालगायत पहाडी भेगमा र तराईका विभिन्न जिल्लामा ३० गते अर्थात् होलि पर्व मनाइँदै छ । पूर्णिमाको रातमा चीर ढालेर टुँडिखेलमा पुर्याई दहन गरेपछि होली पर्व समाप्त हुने मान्यता छ ।