
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि भइरहेको छानबिन कार्यको स्थिति खुलाउन काठमाडौं महानगरलाई पत्र लेखेको छ।
मन्त्रालयले फागुन १५ गते महानगरलाई लेखेको पत्रमा अधिकृत गुरागाईंमाथि भइरहेको छानबिन कार्यको स्थितिबारे स्पष्ट खुलाई पठाउनु भनेको छ।
यस्तो छ पत्रको व्यहोरा –
‘प्रस्तुत विषयमा तहाँको चलानी नम्बर ४५०, मिति २०८१/०९/२४ गतेको पत्र प्राप्त भई व्यहोरा अवगत भयो। सो सम्बन्धमा तहाँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि भइरहेको छानबिन कार्यको स्थितिबारे स्पष्ट खुलाई पठाइदिनुहुन मिति २०८१/११/१५ को निर्णयानुसार अनुरोध छ ’।
महानगरले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले आधिकारिक प्रक्रिया पूरा नगरी पुरानो बसपार्कस्थित काठमाडौं टावरको नक्सा पास गरेको भन्दै उनीमाथि छानबिन गरेको थियो ।
काठमाडौं महानगरले सरकारका पूर्वसचिव शंकर पाण्डेको नेतृत्वमा तीनजनाको छानबिन समिति बनाएको छ । पाण्डे नेतृत्वको समितिले छानबिन गरिरहेको महानगरले बताएको छ । साढे २ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा काठमाडौं महानगरपालिकामा आर्थिक क्रियाकलाप ठप्प भएका छन् ।