काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक तहमा देखिएको अस्थिरताको सम्बोधन संविधान संशोधनको माध्यमबाट पनि गर्न सकिने बताएका छन् ।
बिहीबार सैनिकमञ्च टुँडिखेलमा संविधान दिवसको मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासका लागि स्थायित्व चाहिने उल्लेख गर्दै वर्तमान सरकार संविधानलाई समयानुकल बनाउन लागिपरेको बताए ।
‘विकासका लागि स्थायित्व चाहिन्छ । अहिले हामीलाई नीति र राजनीति दुवैमा स्थायित्व चाहिएको छ । राजनीतिमा स्थायित्व भनेको स्थिरता र नीतिमा स्थायित्व भनेको निरन्तरता हो । तसर्थ विकासको लागि स्थायित्व अर्थात निरन्तरता र स्थिरता अनिवार्य तत्व हुन । संविधानलाई समयानुकूल बनाउनु पर्छ । समयानुकूल बनाउने भनेको अनुकूल नभएका प्रावधान हटाउने वा परिमार्जन गर्ने हो । मेरो विचारमा संविधानको संशोधन भनेको ‘लिखत र मर्म’ (लेटर एन्ड स्पिरिट) अनुसार नभएका वा बाधा पुगेको ठाँउमा परिवर्तन गर्नु हो । विद्यमान संविधानका अमिल्दा पक्षमाथि संशोधन गर्नु हो । राजनीतिक तहमा देखिएको अस्थिरताको सम्बोधन केही हदसम्म हामी संविधान संशोधनको माध्यमबाट पनि गर्न सक्छौं’ प्रधानमन्त्रीले भने ।
त्यस्तै उनले युवाहरुभित्र केही गरौं भन्ने आगो बलिरहेको बेला समाजमा आगो लगाउँछु भन्नेहरु समेत रहेको उल्लेख गर्दै देशलाई बचाउन सचेत गराए ।
देश भाँडियो वा अशिष्टहरूले अराजकता मच्चाउन अलिकति मात्र मौका पाए भने देश पुस्तौंपुस्ता पछि पर्ने उनको भनाइ थियो । उनले भने, ‘आज म खासगरी युवा पुस्तालाई सचेत गराउन चाहन्छु, तपाईंहरूभित्र केही गरौं भन्ने जुन आगो बलिरहेको छ, त्यसलाई समाजमा आगो लगाउँछु भन्नेहरूवाट बचाउनु होला । तपाईंहरूमा केही गरौं भन्ने जुन हुटहुटी छ, त्यसलाई समाजमा हुलमुल गराउन खोज्नेहरूवाट जोगाउनु होला । समाजमा थिति बस्यो, समाज सभ्य भयो, अशिष्टहरूले मिच्न पाएनन् भने विकास त हामी गर्छौांैँ, गछौँ । सुशासन कायम त हामी गछौं, गछौं । तर, याद गरौं, देश भाँडियो भने, अशिष्टहरूले अराजकता मच्चाउन अलिकति मात्र मौका पाए भने हामी पुस्तौंपुस्ता पछि पर्नेछौँ ।’
आर्थिक विकास र उन्नतिको जुनसुकै तहमा हुदाँ पनि नेपाल सदैब एउटा सभ्य र सुसंस्कृत राष्ट्र भएको ओलीले उल्लेख गरे ।