काठमाडौं । आज २५ औं अन्तर्राष्ट्रिय युवा दिवस । नेपालमा विविध कार्यक्रम गरी मनाइँदै छ । यस वर्षको युवा दिवसको नारा ‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ भन्ने रहेको छ ।
युवा दिवसको अबसरमा विहान काठमाडौंको भृकुटीमण्डपबाट प्रभातफेरि आयोजना गरेर होटल याक एण्ड यतीमा युवा सम्मेलनको उद्घाटन गरिँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले सम्मेलनको उद्घाटन गर्नेछन् ।
सन् १९९८ अगस्ट ८–१२ तारिखमा संयुक्त राष्ट्रसंघको समन्वयमा पोर्चुगलको लिसवनमा १४० देशका युवा मामिला हेर्ने मन्त्रीहरूको सहभागितामा विश्व सम्मेलन भएको थियो ।
सम्मेलनले आआफ्ना देशमा राष्ट्रिय युवा नीति तर्जुमा गर्ने साझा प्रतिवद्धता सहित ८८ बुँदे लिसवन घोषणापत्र जारी गरेको थियो । सन् १९९९ को डिसेम्वर १७ मा बसेको राष्ट्रसंघको ५४औं महासभाले उक्त प्रस्ताव अनुमोदन गरेपछि सन् २००० बाट हरेक वर्षको अगष्ट १२ को दिनलाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउन थालियो ।
युवा दिवस मनाउन सरकारले युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा ३७१ सदस्यीय ‘अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह समिति’ गठन गरिएको थियो । रचानात्मक कार्य गरी युवा दिवस मनाउन लागिएको युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।