काठमाडौँ । नेपाल उद्योग व्यापार महासंघले वृहत वृक्षारोपण गरेर आफ्नो स्थापना दिवस मनाएको छ । महासंघले हरेक असार ३१ गते विविध कार्यक्रम आफ्नो स्थापना दिवस मनाउँदै आएको छ ।
यसैक्रममा सोमबार महासंघले काठमाडौँको बुढानिलकण्ठ नगरपालिका– १३, रातामाटे डाँडा सामुदायिक वनमा वृहत वृक्षारोपण गरी मनाएको छ । कार्यक्रमा महासंघका केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, नेपाल उद्योग व्यापार महासंघ बागमती प्रदेश, काठमाडौं जिल्ला पदाधिकारी तथा सदस्यहरुका साथै उद्योगी व्यवसायीहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरुका सहभागिता रहेको थियो ।
वृक्षारोपण कार्यक्रममा महासंघका अध्यक्ष खिमलाल भण्डारीले समाजप्रतिको उत्तरदायित्व निर्वाहमा महासंघ निरन्तर रुपमा लागिरहेको र आगामी दिनमा पनि यसलाई निरन्तर रुपमा अगाडि बढाउने प्रतिवद्धता गरेका थिए । उनले महासंघले रचनात्मक काम गर्दै आएको बताए ।
त्यसैगरी वन समितिका सचिव विष्णुबहादुर श्रेष्ठले वृक्षारोपणले हरियाली बढाउनुको साथै वातावरण राम्रो प्रभाव बताउँदै महासंघलाई धन्यवाद दिँदै आगामी दिनमा सहकार्यलाई निरन्तरता दिने बताए । त्यस्तै, सव डिभिजन वन कार्यालयका प्रतिनिधि यदु कुमार भारतीले महासंघको यस कार्यप्रति धन्यवाद व्यक्त गर्दै सव डिभिजन वन कार्यालयले आगामी दिनमा आवश्यक परे विरुवा लगायतका अन्य सहयोग प्रतिवद्धता व्यक्त गरिन् ।
उक्त वृक्षारोपण कार्यमा रातामाटे सामुदायिक वन समितिले स्थान र सव डिभिजन वन कार्यालय गोकर्णले विरुवा उपलव्ध गराई सहजिकरण गरेको थियो ।
स्थापना दिवसको अबसरमा महासंघले सातै प्रदेश स्तरिय शाखा, जिल्ला शाखा, नगर तथा पालिकाहरुले पनि विभिन्न किसिमका सामाजिक कार्यहरु गर्दै मनाईरहेका छन ।
स्थापना दिवसकै अबसरमा पारेर महासंघले साउन २ गते विहान ११ बजेबाट नयाँबसपार्क परिसरमा बृहत रक्तदान कार्यक्रमको आयोजना गर्दैछ ।