काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई आगामी राष्ट्रपति पदको उम्मेदवारी छोड्न दबाब बढिरहेको बेला उनले आफ्नो उम्मेदवार नछोड्ने जिकिर गरिरहेका छन् ।
एबीसी न्यूजसँगको अन्तर्वार्तामा बाइडेनले आफुले उम्मेदवारी नछोड्ने बताउदै भने-‘जबसम्म भगवान आफैं नआउनुहुन्छ र मलाई उम्मेदवारी छोड्न भन्नुहुन्छ, तबसम्म म पद त्याग्ने छैन ।’
डोनाल्ड ट्रम्पसँगको पहिलो बहस हारेपछि बाइडेनले उम्मेदवारी छोड्नुपर्ने धारणा बलियो हुँदै गएको छ । डेमोक्रेटिक पार्टीका नेता, कार्यकर्तादेखि अब चुनावको लागि चन्दा दिने कम्पनी र व्यक्तिहरुले समेत बाइडेनले आफ्नो उम्मेदवारी छोड्नुपर्ने बताउन थालेपछि दबाब बढेको छ ।
८१ बर्षिय बाइडेनको शारीरिक अवस्था र स्वास्थ्यका कारण उनले चुनावी क्याम्पेनमा ट्रम्पलाई चुनौती दिन नसक्ने र चुनाव जितेपछि राष्ट्रपतिको काम गर्न नसक्ने दलिल दिन शुरु गरिएको छ । तर बाइडेनले आफु राष्ट्रपतिको चुनाव लड्नेछन् र ट्रम्पलाई हराउने विश्वास व्यक्त गरेका छन् ।
बाइडेनलाई उम्मेदवारी छोड्न दबाब बढिरहेका बेला उपराष्ट्रपति कमला ह्यारिश डेमोक्रेटबाट राष्ट्रपतिको उम्मेदवार बन्ने सम्भावना बढिरहेको विश्लेषण हुन लागेको छ । आगामी अगस्त १९ देखि २२ सम्म हुने डेमोक्रेटिक पार्टीको नेशनल कन्भेन्सनसम्म यो विषय अझ चर्किने र सम्भवत बाइडेन उम्मेदवार नबन्ने विश्वास व्यक्त गरिएको छ ।
बाइडेनको उम्मेदवारी अनिश्चित भएपछि यसको असर डेमोक्रेट पार्टीको लागि चन्दा संकलनमा परिरहेको मिडिया रिपोर्टमा उल्लेख छ ।
डेमोक्रेटिक पार्टीका लागि निर्वाचन कोष सङ्कलन गर्ने नेक्स्ट जेनेरेशन पीएसीले समेत बाइडेनलाई राष्ट्रपतिको दौडबाट पछि हट्न र उनको स्थानमा उपराष्ट्रपति कमला ह्यारिसलाई मौका दिनुपर्ने भनेको छ । उनी बाइडेन भन्दा राम्रो उम्मेदवार साबित हुन सक्ने जिकिर गरिएको छ ।
नेटफ्लिक्सका सह-संस्थापक रीड हेस्टिङ्सले सार्वजनिक रूपमा बाइडेनले उम्मेदवारी छोड्नु पर्ने बताएका छन् । हेस्टिङ्स र उनकी श्रीमती प्याटी क्विलिन डेमोक्र्याटिक पार्टीका सबैभन्दा ठूलो दाता हुन् ।
एक परोपकारी संस्था चलाउने गिडोन स्टेनले बाइडेन दौडबाट फिर्ता नहुन्जेल उनको परिवारले दिने भनेको करोडौंको चन्दा रोकेको बताइएको छ । उनीहरुले अधिकांश दाताहरूले ट्रम्पलाई हराउन डेमोक्र्याटहरूले नयाँ अनुहारलाई उम्मेदवार बनाउनुपर्ने विश्वास गरेका छन् । त्यस्तै डिज्नी कम्पनीका मालिक र फिल्म निर्माता अबिगेल ई. डिज्नीले बाइडेनले देशको धेरै सेवा गरेका छन्, तर डेमोक्र्याटहरूले अब नयाँ उम्मेद्वार नआएसम्म कुनै चन्दा नदिने बताएका छन् ।
धेरै जसो चन्दादाताले बाइडेनको उम्मेदवारी फिर्ता गर्नुपर्ने माग गरेपछि डेमोक्रेटिक पार्टी पनि दबाबमा परेको छ ।
याे बहस र दबाबले अमेरिकाकाे नयाँ राष्ट्रपति डाेनाल्ड ट्रम्पले जित्ने सम्भावना बढ्दै गएकाे बताइएकाे छ ।