काठमाडौं । विश्वासको मत नपाउने पक्का भएपछि मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले मिति सारेका छन् ।
यादवले आज विश्वासको मत लिने तयारी गरेका थिए । तर, विश्वासको मत नपाउने भएपछि मिति सारेर जेठ २८ पुर्याएका छन् ।
मुख्यमन्त्री यादवले विश्वासको मत नपाउने भएपछि बिरामीको बहाना गरेको बताइएको छ । केन्द्रमा नेपाली काँग्रेसको नेतृत्वमा मधेस प्रदेशमा सरकार बनाउने तयारी थालेकोले आजै विश्वासको मत लिएर सरकारबाट हट्नु भन्दा केही दिन कुर्सीमै बस्न आज विश्वासको मत लिने तयारीबाट यादव पछि हटेका हुन् ।
जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामआशिष यादवका अनुसार आज बसेको संसदीय दलको बैठकले जेठ २८ गते विश्वासको मत लिने निर्णय गरेको छ । उक्त कुरा प्रदेशसभामा जानकारी गराइएको यादवले संचारमाध्यमलाई जानकारी गराएका छन् ।
नेकपा माओवादी केन्द्र र नेकपा एमालेले बैशाख ३० गते समर्थन फिर्ता लिएका थिए । त्यसपछि यादव नेतृत्वको मधेस सरकार अल्पमतमा परेको छ ।