काठमाडौं । सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट सार्वजनिक गरेका हुन् ।
चालु आर्थिक बर्षभन्दा ६.२ प्रतिशतले ठूलो आकारको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले चालु बजेट ११ खर्ब ४० अर्ब ६६ करोड विनियोजन गरेका छन् । यो कुल विनियोजनको ६१.३१ प्रतिशत हो । पुनले पूँजीगत तर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड विनियोजन गरेको घोषणा गरेका थिए । यो कुल बजेटको १८.९४ प्रतिशत हो ।
त्यसैगरी वित्तीय व्यवस्था तर्फ ३ खर्ब ६७ अर्ब १८ करोड विनियोजन गरेका छन् । प्रदेश र स्थानीय तहमा ४ खर्ब ८ अर्ब २७ करोड रुपैयाँ हस्तान्तरण गर्न गरी बजेट छुट्याएको अर्थमन्त्री पुनले बताए । अघिल्लो वर्षभन्दा २७ करोड बढी बजेट हस्तान्तरण गर्ने गरी बजेट छुट्याइएको छ ।
खर्च बेहोर्ने स्रोततर्फ राजस्वबाट सरकारले १२ खर्ब ६० अर्ब ३० करोड संकलन गर्ने लक्ष्य राखेको छ । यस वर्ष राजस्व १२ खर्ब ४८ अर्ब ६२ करोड संकलनको लक्ष्य राखेको छ ।
आन्तरिक ऋणबाट ३ खर्ब ३० अर्ब संकलन गर्ने लक्ष्य रहेको छ । वैदेशिक ऋणबाट २ खर्ब १७ अर्ब ६७ करोड र वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड जुटाउने अर्थ मन्त्री वर्षमान पुनले जानकारी दिए ।
अर्थमन्त्री पुनले बजेटका ५ उद्देश्य रहेको बताएका छन् । उनले उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गर्नु, नीति क्षेत्रको मनोबल बढाउँदै लगानी वृद्धि गर्नु र आर्थिक क्रियाकलाप तीव्रता ल्याउनु बजेटको उद्देश्य रहेको बताए ।
यस्तै मानव संसाधनको विकास गर्नु, स्रोत र साधनको समन्यायिक ढंगले परिचालन गरी आर्थिक असमानता र गरिबी न्यूनीकरण गर्नु र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनु भएको उनले बताए ।
बजेटप्रति प्रारम्भिक प्रतिक्रिया आउन थालेका छन् । नीति क्षेत्रका प्रतिनिधिहरु र अर्थविद्हरुले निरास भएको नेपालको अर्थतन्त्रलाई आशावादी बनाउने प्रतिक्रिया दिएका छन् ।