आज :

नीति तथा कार्यक्रमः निरास नागरिक आशावादी

  • अनलाइन डबली

काठमाडौं । सरकारले हिजो सार्वजनिक गरेको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रमले नागरिकलाई आशावादी बनाएको छ । नेपालमा केही हुँदैन भन्ने भाष्यबाट निरास बन्दै गइरहेका नागरिक अब सरकारले कही गर्छ भन्ने आशावादी बनाएको विज्ञहरुले बताएका छन् ।

नीति तथा कार्यक्रमले नागरिकको चुलोदेखि देशको समृद्धिसम्म सम्बोधन गरेको छ । व्यवसायी र अर्थशास्त्राीले नीति तथा कार्यक्रमअनुसार बजेट आए आर्थिक क्षेत्र चलायमान हुने बताएका छन् । सूचना प्रविधि, शिक्षा, फोहोर व्यवस्थापन, वैदेशिक लगानी समग्र क्षेत्र नीति तथा कार्यक्रममा समेटिएका छन् ।

निरास हुँदै विदेश पलायन भइरहेका युवाहरुलाई पनि नेपालमै केही गर्न सकिन्छ भन्ने आशा नीति तथा कार्यक्रमले जगाएको छ ।
त्यसैगरी सरकारले स्वास्थ्य क्षेत्रलाई पनि विशेष महत्वको साथ कार्यक्रममा समेटेको छ । बिरामीको चाप हुने वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पताल लगायत पर्याप्त जनशक्ति उपलब्ध भएका अस्पतालहरूमा दुई सिफ्टमा बहिरङ सेवा सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै, सरकारले कान्ति बाल अस्पतालमा थप पूर्वाधार निर्माण र स्तरोन्नति गरी सुविधासम्पन्न बनाइने नीति लिएको उल्लेख गरेको छ ।
‘कान्ति बाल अस्पतालमा थप पूर्वाधार निर्माण र स्तरोन्नति गरी सुविधासम्पन्न बनाइनेछ । सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई हृदयरोग सम्बन्धी विशेषज्ञ उत्पादन गर्न सक्षम संस्थाको रूपमा विकास गरिनेछ,’ राष्ट्रपति पौडेलले भने ।

यसैगरी सरकारले देशभर विभिन्न स्थानमा निर्माणको चरणमा रहेका आधारभूत अस्पतालको निर्माण कार्य शीघ्र सम्पन्न गरिने, खरिद प्रक्रिया सम्पन्न हुने चरणमा रहेका अस्पतालको निर्माण सुरु गरिने नीति कार्यक्रममा उल्लेख गरेको छ ।

सरकारले प्रदेश तहमा रहेका सङ्घीय अस्पताल वा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई क्रमश ५ सय शैयामा स्तरोन्नति गरिने तथा मानव अङ्ग प्रत्यारोपण संस्था र सेवाको स्तरोन्नति गरी विस्तार गरिने समेत उलेख गरेको छ ।

सुरक्षित मातृत्व र रोग नियन्त्रणका लागि विशेष कार्यक्रम सञ्चालन गरिने उल्लेख गरेको सरकारले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि निःशुल्क स्क्रिनिङ कार्यक्रम र दसदेखि चौध वर्ष उमेर समूहका बालिकालाई दिइने खोप सेवालाई जिल्ला अस्पतालसम्म विस्तार गरिने लक्ष्य राखेको छ ।

यस्तै,परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा जन्मजात विकलाङ्ग वा असाधारण प्रकृतिका अवस्था पहिचान गर्न भ्रुण तथा नवजात शिशु परीक्षण सेवा सुरु गरिने नीति कार्यक्रममा राखेको छ ।

सबै अस्पतालहरूमा जेरियाट्रिक वार्डको प्रबन्ध मिलाई ज्येष्ठ नागरिकहरूलाई सहज रूपमा स्वास्थ्यसेवा प्राप्त गर्नसक्ने व्यवस्था मिलाइने पनि सरकारको नीति कार्यक्रममा समावेश छ । प्रत्येक प्रदेशका कम्तीमा एक सङ्घीय अस्पताल र कम्तीमा दुई अन्य अस्पतालमा टेलिमेडिसिन सेवा सञ्चालन गरिने उल्लेख गरेको सरकारले संघीय एवम् प्रादेशिक अस्पतालमा स्वास्थ्य तथा उपचारसँग सम्बन्धित अभिलेख एवम् सेवाप्रवाहलाई विद्युतीय प्रणालीमा आधारित बनाइने जनाएको छ ।

एकै किसिमको परीक्षण पटक पटक गर्नु नपर्ने र मेडिकल रेकर्ड अद्यावधिक गर्ने गरी स्वास्थ्य संस्थाहरूको विद्युतीय अभिलेख राख्ने व्यवस्था मिलाइने समेत नीति कार्यक्रममा उल्लेख छ ।

महामारी रोकथाम र नियन्त्रण तथा स्वास्थ्य आपत्कालीन अवस्थाको पूर्वतयारी र प्रतिकार्यका लागि जनस्वास्थ्य निगरानी प्रणाली सुदृढ गरिने, सीमा नाका तथा प्रवेश बिन्दुमा स्वास्थ्य जनशक्तिको व्यवस्था गरिने, नसर्ने रोग रोकथाम गर्न छुट्टै संस्थागत व्यवस्था गरिने, पशुपन्छी, वनस्पति र वातावरणबाट मानव स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असर न्यून गर्न “एक स्वास्थ्य नीति”मा आधारित कार्ययोजना कार्यान्वयन गरिने जस्ता कार्यक्रम सरकारले स्वास्थ्य सेवा प्रवाह र विस्तारको क्षेत्रलाई मध्यनजर गर्दै योजनामा राखेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal