काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले हालै गरेको चीन भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउन सफल भएको बताए । चीनको दश दिने भ्रमण सकेर हालै फिर्ता भएको महासचिव गुरुङ बुधबार संवाद डबलीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै भ्रमण सफल भएको दाबी गरे ।
चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निम्तामा गरेको भ्रमणमा चीन नेपालको शान्ति,समृद्धी र राजनीतिक स्थायीत्वको लागि सधै तत्पर रहेको बताउँदै गुरुङले भने,“चिनियाँ उच्च अधिकारीहरुसँगको भेटले हामी उत्साहित भयौं कि चीन सधैं नेपालको समृद्धी,शान्ति र राजनीतिक स्थिरताको लागि सहयोग गर्न तयार छ ।”
महासचिव गुरुङको नेतृत्वमा ३० जनाले दश दिनसम्म चिनियाँ कम्युनिस्ट पार्टी र सरकारका उच्च अधिकारीसँग भेटवार्ता गरेको बताउँदै भने,“उहाँहरुले नेपालमा स्थिर सरकार हेर्न चाहनुभएको छ । कम्युनिस्ट पार्टीहरुबीच सहकार्य होस् भन्ने चाहना राख्नुभएको छ ।”

भ्रमणले चिनियाँ कम्युनिस्ट पार्टी र माओवादी केन्द्रबीचको सम्बन्धलाई जनस्तरमा पुर्याउन समेत सहयोग पुग्ने विश्वास गुरुङले गरे । भ्रमणको क्रममा चीन सरकारका अन्तर्राष्ट्रिय विभागका मन्त्री, स्कूल विभागको प्रमुखलगायत उच्च तहमा भेट भएको पनि जानकारी दिए ।
एक अर्को प्रसंगमा गुरुङले अहिलेको सरकार संसदको कार्यकालसम्मै जाने बताए । उनले भने, “संसदको बाँकी समयसम्म यही समिकरण जान्छ । यसमा विभिन्न खेल हुन पनि सक्छन् । तर, अहिलेको समिकरण यो संसदको बाँकी समयसम्म जान्छ ।”
नेपालको निर्वाचन प्रणालीका कारण एउटा दलको बहुमत प्राप्त गर्न नसक्ने अवस्थाका कारण समिकरण परिवर्तन भइरहने अवस्था सिर्जना भएको बताए । महासचिव गुरुङले हालै सकिएको तेस्रो लगानी सम्मेलन सफल भएको बताए । उनले देश विकासको लागि मुख्य आन्तरिक पुँजि भएपनि बाह्य पुँजि भित्र्याएर अगाडि बढ्नु पर्ने बताए । “देश विकासको लागि आन्तरिक पुँजि मुख्य कुरा हो तर हाम्रो आवश्यकता र प्राथमिकताका आधारमा बाह्य पुँजि भित्र्याएर रोजगारी सिर्जनासँगै देशलाई समृद्ध बनाउन सकिन्छ । त्यही अनुसार सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गरेको हो” गुरुङले भने ।

कार्यक्रममा भ्रमण टोली सदस्य तथा माओवादी केन्द्रका युवा नेता डा. दीपेन्द्र रोकायाले नेपालको विकासको लागि चीनबाट शिक्षा लिन सकिने बताए । भ्रमणको अनुभव सुनाउँदै रोकायाले चीनले जस्तै तीब्र गतिमा विकास गरी नेपाललाई पनि समृद्ध बनाउन सकिने सम्भावना रहेको बताए । मजदूर दिवसको सन्दर्भमा डा.रोकायाले औद्योगिकरुपमा सम्पूर्ण देशलाई अगाडी बढाउन नसक्दासम्म देश अगडी नबढ्ने बताउँदै भने “वस्तु उत्पादन गरेर निर्यात गर्न सकिएन भने हामी वेरोजगार उत्पादन गर्ने करखाना मात्रै बन्ने हो, त्यसैले यो सरकारले उद्योग खोल्न पहल गर्नु पर्छ ।”
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          

अनलाइन डबली




