काठमाडौँ, पुस २३ । काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डंगोलले कलाको माध्यमबाट सहरको सौन्दर्य बढाउने सवालमा कलाकारहरूसँग छलफल र सुझाव आवश्यक रहेको बताउनुभएको छ ।
उहाँले हाल सहरमा राखिने प्रविधियुक्त र अन्य होडिङ वोर्ड राख्दा लाग्ने करको सन्दर्भमा कलाकारलगायत सम्वद्ध क्षेत्रले उचित र लिखित सुझाव महानगरपालिकालाई उपलब्ध गराए आगामी नीति तथा कार्यक्रममा समावेश गर्न सकिने विचार व्यक्त गर्नुभएको हो ।
राष्ट्रिय विभूति अरनिकोको स्मृति दिवस एवं नेपाल व्यवसायिक कलाकार सङ्घ(क्यान)को २९ औं स्थापना दिवसको अवसरमा कला समिक्षक र कलाकारहरू पन्ध्रजना सम्मानित एवं पुरस्कृत समारोहमा उपमेयर डंगोलले सो कुरा बताउनुभएको हो ।
उपप्रमुख डंगोलले व्यवसायिक कलाकार सङ्घको स्थापना भएको तीन दशकमा कलाको विविध माध्यमबाट राष्ट्रका लागि योगदान दिन सफल कलाकारलाई प्रोत्साहन स्वरूप प्रदान गरिएको पुरस्कार र सम्मानले अन्य कलाकारलाई प्रोत्साहित बनाउने बताउनुभयो ।
सोही सभामा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले सो सङ्घले कलासँग पर्यटनलाई जोड्दै विविध गतिविधी सञ्चालन गरिरहेको सन्दर्भमा देशका थुप्रै सम्पदा क्षेत्रमा पर्यटनसँग लिइने शुल्क एवं सङ्ग्रहालय अवलोकन गरेर सङ्कलन भएको राजस्वको केही अंश कला र कलाकारको प्रवद्र्धनका लागि पनि लगानी गर्ने नीति बनाउनुपर्ने बताउनुभयो ।
उहाँले सो क्षेत्रमा कलात्मक सम्पदा अवलोकन गर्न आन्तरिक र वाह्य पर्यटकले चासोसहित शुल्क नै तिरेर भ्रमण गर्छन् भने त्यस्ता कला सिर्जनाका लागि समर्पित कलाकारको प्रोत्साहनका लागि पनि राज्यले लगानीसहित योजना ल्याउनुपर्नेमा जोड दिनुभयो ।
सङ्घका अध्यक्ष आइ.भि.मल्लले कलामा व्यवसायीक वातावरणको प्रवद्र्धनसहित कलाकार र कला क्षेत्रको संवद्र्धनका लागि सङ्घ क्रियासिल रहेको बताउनुभयो ।
सङ्घका कार्यक्रम संयोजक रोशन श्रेष्ठले कलाको माध्यमबाट पर्यटन प्रवद्र्धन र कलामा व्यवसायिकताको विकासका लागि सङ्घमार्फत कलाकारलाई सङ्गठित र प्रोत्साहनका लागि विविध गतिविधी गरिरहेको जानकारी दिनुभयो ।
सो सङ्घद्वारा सोमवार राजधानीमा आयोजित कार्यक्रममा वरिष्ठ कलाकार हरिप्रसाद शर्मालाई सुरेन्द्र प्रधान दीर्घ कला–साधक पुरस्कार राशी २५ हजार रूपियाँसहित सम्मानित गरिएको थियो ।
क्रोधकला शिरोमणि पुरस्कारबाट सन्तकुमार शाक्यलाई २० हजार रूपियाँसहित र कलाकार प्रकाश थापा ‘प्रथा’लाई पन्ध्रहजार रूपियाँसहित पुरस्कृत गरिएको छ ।
त्यसैगरी मुल्मी ग्राफिक डिजाइन अवार्ड, हेम–गङ्गा नारी कला प्रतिभा पुरस्कारबाट सुजन वीर बज्राचार्य, हेम–गङ्गा नारी कला प्रतिभा पुरस्कारबाट लक्ष्मी न्यौपाने,क्यान आइडियल कला पुरस्कारबाट श्यामबहादुर श्रेष्ठलाई जनही दश÷दशहजार रूपियाँसहित पुरस्कृत गरिएको छ ।
सो अवसरमा निर्वाण कला सम्मानबाट गणेश लामा ‘आसु’,क्यान सिग्देल आर्ट पुरस्कारबाट श्रवण चौधरी, र ठाकुरप्रसाद–इन्दिरा मैनाली मूर्तिकला पुरस्कारबाट जनही दश÷दश हजार रूपियाँ राशिसहित सम्मानपत्रद्वारा पुरस्कृत हुनुभएको छ ।
बालकृष्ण स्मृति कला पुरस्कारबाट महेन्द्र राई,नारायणदेवी स्मृति पुरस्कारबाट ज्ञानेन्द्र विवश,राजेश मानन्धर कार्टुन अवार्डबाट सानुराज डंगोल र ऋचा मैनाली रिमाल स्मृति पुरस्कारबाट उहाँहरूलाई जनही पाँच÷पाँचहजार रूपियाँसहित पुरस्कृत गरिएको छ ।


अनलाइन डबली


