काठमाडौं । आज हुन लागेको शक्ति प्रदर्शनको सुरक्षाको लागि एकीकृत सुरक्षा योजना लागू गरिएको छ । सबै सुरक्षा निकायका अधिकारीसहितको उक्त योजना अन्तरगत ७ हजार सुरक्षाकर्मी परिचालन गरिएको अधिकारीहरुले बताएका छन् ।
नेकपा एमाले र व्यवसायी दुर्गा प्रसाईँको शक्ति प्रदर्शनले आम नागिरकको दैनिकीमा असर नपर्ने गरी सुरक्षा व्यवस्था मिलाएको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरी प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्र खत्रीका अनुसार काठमाडौंका ९० भन्दा बढी ठाउँमा सुरक्षा प्रवन्ध गरिसकेको र प्रभावकारी रुपमा सुरक्षा व्यवस्थालाई अघि बढाइएको छ ।
खत्रीले आम नागरिकलाई ढुक्क भएर आफ्नै दैनिकीमा निस्कन आग्रह पनि गरेका छन् । ‘आम नागरिकहरुलाई म कुनै पनि संशय बिना आफ्ना दैनिकीहरु चाहे कार्यालय होस्, चाहे विद्यालय होस् वा अरु कुनैपनि व्यवसाय गर्नको लागि ढुक्क भएर काम गर्नुहोस् । प्रहरी परिचालन हामी प्रभावकारी रुपमा तयारी गरेका छौँ । कसैले पनि शंका गरेर नडराउनु भए हुन्छ । प्रदर्शन गर्ने क्रममा सवारी आगमनमा केही अवरोध हुनसक्छ, त्यसमा ट्राफिक प्रहरीको सहयोगमा व्यवस्थापन गर्नेछौँ’ खत्रीले भने ।
सर्वसाधारणको दैनिकीलाई पनि सहजीकरण गर्नको लागि सवारी आवागमनलाई सहज बनाउने योजनाअनुसार सुरक्षा निकाय अघि बढेको प्रहरीले जनाएको छ ।
यातायातको आवागमनमा अवरोध हुन सक्ने भन्दै ट्राफिक प्रहरीले तोकेका रुटमा यात्रा गर्न पनि प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।


अनलाइन डबली

