काठमाडौं। प्रधानमन्त्री प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउन चाहने प्रतिगामीहरूको सपना कहिल्यै पूरा हुँदैन।
नेपाल सरकारको मन्त्रिपरिषदले सरकारी लिखतहरूमा नेपाल संव्त समेत उल्लेख गर्ने निर्णयको स्वागतमा प्रधानमन्त्रीलाई सम्मान गर्ने कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो।
प्रधानमन्त्रीले भन्नुभयो, ‘‘आजको परिवर्तन साना दुखले आएको होइन। यो व्यवस्थाका निम्ति हजारौंले रगत बगाएका छन्, हजारौंले जेलनेल भोगेका छन्। लाखौं जनताले संघर्ष गरेका छन्। यो व्यवस्था कसैले उल्टाउन खोज्छ भने त्यो सपना मात्रै हो, तिनीहरूको सपना कहिल्यै पूरा हुँदैन।’’
‘‘संसारकै नियम हो– पराजित भइसकेका सामन्ती तत्वहरूले अन्तिमपटक टाउको उठाउन खोज्छन्। अहिले पनि त्यही कोसिस हुँदैछ’’ प्रधानमन्त्रीले भन्नुभयो, ‘‘संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउने सपना कसैले नदेख्दा हुन्छ। यस्तो दुस्प्रयास गर्नेहरूले फेरि अर्को मूल्य चुकाउनुपर्नेछ।’’
प्रधानमन्त्रीले नेपाल संवत् नेपालको मौलिक संवत् भएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘हामीले विक्रम संवत् प्रयोग गरिरहेका छौं। कतिपय सन्दर्भमा अंग्रेजी संवत् पनि लेखिन्छ। तर, नेपाल संवत् नेपालको आफ्नै मौलिक संवत् हो। यसलाई राष्ट्रिय संवत्को रूपमा विकसित तुल्याउनुपर्दछ।’’
‘‘एकथरि मान्छेहरू लोकतन्त्र र संस्कारको कुरा गर्दैछन्। उनीहरूको संस्कार के हो, लोकतन्त्र कस्तो थियो भन्ने कुरा हामीले राम्रोसँग देखिसकेका छौं। लुटको स्वर्ग गुमेको छटपटी उनीहरूको होला। तर, व्यवस्थाका विरूद्ध षड्यन्त्र गरिरहे हामी थप कठोर हुन बाध्य हुनेछौं’’ प्रधानमन्त्रीले कार्यक्रममा भन्नुभयो।


अनलाइन डबली





