काठमाडौं । राष्ट्रियसभा र प्रतिनिधिसभाका चालू अधिवेशन अन्त्य भएको छ । दुबै सदनका अधिवेशन आज राति १२ बजेबाट अन्त्य गरिएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी अधिवेशनको अन्त्य गरेका हुन् ।
‘नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/०७/१६ को सिफारिसमा संघीय संसदको दुबै सदनको चालू अधिवेशन संवत् २०८० साल कात्तिक १६ गते बिहीबार राति १२ः०० बजेदेखि अन्त्य गरेको छु’ राष्ट्रपतिले संसदलाई पठाएको पत्रमा भनिएको छ ।
राष्ट्रपतिको पत्र दुबै सदनमा जानकारी गराइएको छ ।
टीआरसी विधेयक चालू अधिवेशनबाट पारति गर्ने भनिएपनि दलहरुबीच थप छलफल आवश्यक भएको भन्दै पास गरिएन । शिर्ष नेताहरुबीच आगामी हिउँदे अधिवेशनबाट टीआरसी विधेयक पारित गर्ने सहमति भएको बताइएको छ ।