काठमाडौं । दशैंको महाअष्टमीको दिन पाल्पामा जिप दुर्घटना हुँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । छोराले चलाएको जीपमा आमा बुबासहित आफन्त दशैं मान्न जाँदै आइतबार साँझतिर दुर्घटना भएको हो ।
तानसेनतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१-०२६ च ७२०९ नम्बरको जिप रातीमहल तानसेन सडकखण्डको तानसेन नगरपालिका वडा नं. १३ बैकुन्ठेभिरबाट अन्दाजी १०० मिटर तल खोलामा खसेको थियो ।
प्रहरीका अनुसार जिपमा ७ जना सवार थिए । चालकबाहेक सबैको निधन भएको छ । गम्भीर घाइते चालकले चलाएको जीपमा आमा बुबासहित परिवारका सदस्य तथा आफन्त मात्रै थिए ।
मृत्यु हुनेहरुमा पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नं १६ रजहर का ६५ वर्षीय कृष्णबहादुर लोहनी, उनकी श्रीमती ५५ वर्षीय पार्वती लोहनी उनकी आफन्त ५५ पर्षीय चुना धिताल, बुहारी ३५ वर्षीय सविना धिताल,र नाती ११ वर्षीय सोविस लोहनी र साढे २ वर्षका अर्का एक बालक रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी गम्भीर घाइते चालक ३६ वर्षीय ईश्वर बहादुर पनि मृतक लोहनीका आफ्नै छोरा भएको प्रहरीले बताएको छ ।
जिप रानीमहल जाँदै गरेको थियो । दुर्घटना भएको स्थल खोलाको खोँच रहेकाले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ । सदरमुकाम तानसेनदेखि ११ किलोमिटर टाढा रहेको उक्त सडक वर्षायाम बिग्रेको सडक बनाइएको थिएन् ।
लोहनी परिवार केही समयअघि मात्रै फर्केको र दशैंमा घुमघाममा निस्किएको छिमेकीले बताएका छन् ।


अनलाइन डबली


