काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की शपथ लिनु भन्दा पहिले काठमाडौँ राजनीतिक भेटघाट गरेका छन् । नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री भएका कार्की बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विशेष धन्यवाद दिए ।
ओलीको योजनामा कांग्रेसबाट विद्रोह गराएर मुख्यमन्त्रीमा बनाइएको भन्ने चर्चासँगै कार्की बालकोट पुगेर त्यसलाई पुष्टि गरेका छन् । कार्की सानो टीमसहित बालकोट पुगेका थिए । एमाले नेताहरुका अनुसार कार्की सरकार विस्तारबारे छलफल गर्न ओलीले नै कार्कीलाई काठमाडौँ बोलाएका थिए ।
ओलीले बालकोट भेटमा कार्कीलाई सरकारलाई गठबन्धनबाट अलग राख्न समेत भनेका थिए । सरकारमा काँग्रेस र माओवादीलाई सहभागी नगराउन समेत ओलीले कार्कीलाई भनेको बताइएको छ ।
शनिबार विहान नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धनकै मर्म अनुसार प्रदेश सरकार बिस्तार गर्ने सहमति भएपछि ओली र काँग्रेस नेता शेखर कोइरालाको बोलावटमा कार्की शनिबार साँझ काठमाडौँ आइपुगेका थिए ।
ओलीले मुख्यमन्त्री कार्कीलाई पूर्वसहमति अनुसार अगाडि नबढे सरकारले विश्वासको मत नपाउने र मध्यावतितिर जाने चेतावनी पनि दिएको स्रोतको दाबी छ ।
पहिलो भेट नेता कोइरालासँग गरेका कार्कीले पार्टी सभापति देउवालाई पनि भेटेका थिए ।
भेटमा देउवाले गठबन्धनको मर्मअनुसार सरकार विस्तार गर्न सुझाव दिएका थिए । तर, नेता कोइरालाले एमालेलाई पनि पहिलो चरणमै सरकारमा सहभागी गराउन भनेको बताइएको छ ।
मुख्यमन्त्री कार्कीले आजै एमालेबाट एक र आफू निकट समूहबाट एकजनालाई मन्त्री नियुक्त गर्ने तयारी पनि गरेको बताइएको छ ।