आज :

ललितपुर उद्याेग वाणिज्य संघमा उम्मेदवारी र त्रिपक्षीय प्रतिस्पर्धा यस्तो छ

  • बुद्धशरण शाही

काठमाडौं।असोज १९ र २० गते हुने ललितपुर उद्योग वाणिज्य संघको ४४ औं साधारणसभा र त्यसपछिको निर्वाचनमा अध्यक्षका लागि तीन जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । यसले गर्दा ललितपुरका उद्योगी, व्यवसायीहरुलाई यतिवेला साधारणसभा र चुनावी चटारोले समातेको छ । ४३ औं साधारणसभामा एउटै प्यानलबाट चुनाव जितेका संघका वरिष्ठ उपाध्यक्ष विश्वराज बज्राचार्य र महासचिव रुपकमान दुई फरक फरक प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । ठिक यही समयमा अध्यक्षका लागि संघका पूर्व वरिष्ठ उपाध्यक्ष रवीन्द्रराज ताम्रकार पनि उत्रिएपछि चुनावी प्रतिस्पर्धा त्रिपक्षीय बनेको छ । वरिष्ठ उपाध्यक्ष विश्वराज बज्राचार्य, पूर्व वरिष्ठ उपाध्यक्ष रविन्द्रराज ताम्राकार र वर्तमान महासचिव रुपकमान महर्जन चुनावी प्रचारप्रसारमा छन् । प्यानलसहित होमिएका बज्राचार्य र महर्जनसंग प्रतिस्पर्धा गर्न ताम्रकार एक्लै चुनावी दौडमा सामेल भएका छन् । हाल वरिष्ठ उपाध्यक्ष रहेका बज्राचार्य पहिले उपाध्यक्ष थिए । सडक बालवालिकाका लागि काम गर्ने साथसाथ नामक गैरसरकारी संस्थामा व्यस्तता गर्दाले बज्राचार्यले यसअघिको कुनै पनि कार्यकाल र अहिलेसम्म पनि संघमा पर्याप्त समय दिन सकेका छैनन् । यो कुरो उनकै प्यानलमा रहेका अहिलेका पदाधिकारीहरुले गुनासो पोख्ने गरेका छन् । उद्यमी व्यवसायीमाझ खासै घुलमिल नभएका बज्राचार्यले अहिलेसम्म व्यवसायीको हकहीतका पक्षमा कहीकतै बोलेका छैनन् । ‘एक जागिरदारले व्यवसायीको संस्थामा अध्यक्षको उम्मेदवारी दिने कुरो नैतिक हिसाबले मिल्दैन ।’ आम उद्यमी व्यवसायीहरुमाझ यस्तै कुरो अहिले सर्वत्र उठिरहेको छ । एक समय व्यवसायमा आबद्ध भएको हिसाबले प्राविधिक रुपमा उम्मेदवारी दिन मिलेपनि बज्राचार्यले आम उद्यमी व्यवसायीले भोग्नु परिरहेको समस्या र पीडालाई बुझ्न नसक्ने उद्यमी व्यवसायीहरुको भनाई रहेको छ । आम उद्यमी व्यवसायीमाझ बज्राचार्य खासै घुलमिल नभएका र जातीय मत आकर्षित गर्न कसरत गरेपनि चिनजानको अभावमा त्यसले काम गरिरहेको छैन । यसले गर्दा बज्राचार्यप्रति मतदाताहरु आकर्षित भएका छैनन् । चिनेजानेकाले जागिरदार कसरी संस्था चलाउन भनेर सोध्ने गरेको भन्दै प्यानलमा रहेका अन्य पदाधिकारीहरु एक्ला एक्लै मतदाता रिझाउन व्यस्त देखिएका छन् । शुरुमा प्यानल चयन गर्दा नै हतासा देखिएका बज्राचार्यको प्यानलमा व्यवसाय छाडेर अन्य पेशामा संलग्न रहेकाहरुको बाहुल्यता रहेको छ । अर्का उम्मेदवार वर्तमान महासचिव रुपकमान महर्जन पनि विवादमुक्त उम्मेदवारका रुपमा भने देखिएका छैनन् । घरजग्गा सम्बन्धि कारोवार गर्ने रुपकमान महर्जनको व्यवसाय नै बन्द छ । संघको महासचिवको भूमिकामा रहंदा प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्न नसकेका महर्जन राजनीतिक दलको फेर समातेर संघको नेतृत्व हत्याउने दाउमा छन् । महर्जनले हालको कार्यकालमा अपेक्षाकृत कार्य, मेड इन ललितपुर ब्राण्डिंग र हस्तकला नगरी स्थापना कार्यमा अपेक्षित उपलब्धि ल्याउन नसकेको चर्चा हुन थालेको देखिन्छ । महर्जन भएको जातिय लाभ लिन कसरत गरेपनि महर्जनहरुमाझ उनी खासै लोकप्रिय छैनन् । यस्तो अवस्थामा स्वतन्त्र उम्मेदवारले कसरी मतदातालाई आफ्ना कुराहरु राखेका छन् त्यो पनि महत्वपूर्ण हुन जान्छ । उता स्वतन्त्र उम्मेदवार ताम्राकार दुई संस्थाको अध्यक्ष बन्नुहुन्न भन्ने मान्यताले दुई कार्यकाल पर्खिएर स्वतन्त्र उम्मेदवार बनेका छन् भने अर्कातर्फका उम्मेदवारहरु दुबै क्रमश साथसाथ एनजिओ र आर्ट भिलेज लगायत विभिन्न संस्थामा महत्वपूर्ण जिम्मेवार पदमा छन् । दुवैजनाले प्यानलसहित टीमका कुरा र आफ्ना घोषणा पत्रमा महत्वाकाँक्षी योजना ल्याए पनि बज्राचार्यको प्यानलमा अधिकांश आफ्ना ब्यवसायमा भन्दा अन्य पेशामा बढी सक्रिय रहेको कारण संघको बारे परिपक्वता नदेखिएको चर्चा उद्योगी, व्यवसायीहरुमा चलेको छ । योग्यता, क्षमता र अनुभवका हिसाबले ताम्रकार उपयुक्त पात्र भएपनि स्वतन्त्र व्यक्तिले कसरी चुनाव जित्लान् भन्ने प्रश्नमा दुवै प्यानलबाट जो विजयी भएपनि सबैसंग मिलेर काम गर्ने उद्देश्यले प्यानल बनाउने परम्परालाई तोडेर उम्मेदवारी दिएको बुझिएको छ । राजनीतिक दलहरुलाई गोटी बनाएर उम्मेदवार बनेका बज्राचार्य र महर्जनसंग स्वतन्त्र उम्मेदवार बनेका ताम्राकारको प्रतिस्पर्धा कस्तो हुनेछ भनेर हेर्न २० गतेको निर्वाचनको प्रतिक्षा गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal