काठमाडौँ । सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनलाई उल्टाइदिएपछि झण्डावाल गाडीमा मुख्यमन्त्री कार्यालयमा जान हौसिएका नेकपा एमाले नेता हिक्मत कुमार कार्कीले गाडी पाएनन् । काठमाडौंबाट प्रदेश राजधानी पुगेका कार्कीले झण्डावाला गाडी मागेका थिए तर मुख्यमन्त्रीको कार्यालयले इन्कार गरेको हो ।
अदालतको आदेशसँगै आफू अर्को सरकार गठन नभएसम्म कामचलाउ मुख्यमन्त्री भएको दाबी गर्दै कार्कीले सचिवालयमार्फत् गाडी मागेका थिए । कार्कीले सचिवालयलाई विहान ९ बजे विराटनगर विमानस्थलमा गाडी मगाएका थिए ।
कार्कीले झण्डावाल गाडी नै विमानस्थल पठाउन भनेपनि प्रमुख सचिव डा. दीपक काफ्लेले गाडी पठाउन इन्कार गरेको बताइएको छ । कार्की साढे ९ बजे विमानस्थल पुगेका थिए । मुख्यमन्त्री चढ्ने गाडी आफूलाई लिन नपाएपछि कार्की नीजि डेरातिर लागेका छन् । उनको सुरक्षाको लागि न सुरक्षाकर्मी पठाइएको छ ।
प्रमुख सचिव काफ्ले प्रदेश प्रमुख परशुराम खापुङसँग छलफलमा गरेर मात्रै गाडी र सुरक्षाकर्मी पठाउने वा नपठाउने निर्णय लिने बताएका छन् ।
कार्कीले संचारकर्मीसँगको कुराकानीमा अब आफू मुख्यमन्त्री कार्यालयमा नजाने बताए । सरकारका काममा केही अप्ठ्यारो भए मात्रै कार्यालय जाने अधिकार प्राप्त भएकाले मुख्यमन्त्री कार्यालयमै गएर दिनभरी नबस्ने उनले बताए ।