काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री लिउ कुनबीच भेटवार्ता भएको छ । जी–२० बैठकका क्रममा सोमवार अर्थमन्त्री डा. महत र चिनियाँ अर्थमन्त्री कुनबीच भेटवार्ता भएको हो । जी–२० को बैठक भारतको गुजरातस्थित गान्धीनगरमा भइरहेको छ ।
भेटमा आपसी सम्बन्धका विविध विषयमा कुराकानी भएको बताइएको छ । नेपाल र चीनको चासो र सरोकारप्रति तथा संवेदनशीलता बारेमा समान धारणा रहेको अर्थमन्त्री महतको सचिवालयले जनाएको छ । त्यस्तै, अर्थमन्त्री डा. महतले चीनले नेपालमा गरेको विकास सहयोगका लागि धन्यवाद व्यक्त समेत गरे ।
भेटमा सन् २०१९ मा नेपाल भ्रमणका क्रममा चीनका राष्ट्रपतिले गरेको सहयोग प्रतिबद्धताबारे पनि २ देशका अर्थमन्त्रीबीच कुराकानी भएको जनाइएको छ । नेपाल भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिले नेपालको समग्र आर्थिक विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
त्यसैगरी मन्त्री महतले नेपाल र चीनबीच महत्त्वपूर्ण सीमानाकाबाट २ देश जोड्ने सडक परियोजना सहयोगको महत्त्वपूर्ण क्षेत्र हुनसक्ने र दुवै देशका सम्बन्धित निकायले यसबारेमा गृहकार्य गरी छिट्टै अगाडि बढाउने विश्वास व्यक्त गरेका छन् ।
चिनियाँ अर्थमन्त्री कुनले नेपालको विकासमा सहयोगी हुन चाहेको र सहयोगका परियोजना चाँडै कार्यान्वयनमा आउने विश्वास व्यक्त गरेका छन् ।