
काठमाडौं । राम्रो रुपैयाँ पाउने भएपछि अवैध मानिएको सट्टेबाजी गर्ने ‘वान एक्स बेट’ को विज्ञापन गर्दै आएका हास्यव्यांग्य क्षेत्रका चर्चित कलाकारदेखि युट्युबरको सामाजिक व्यक्तित्व एकैछिनमा जमिनमा मिलेको छ । प्रहरीले उनीहरुविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ ।
प्रहरीले बल्छी धुर्वे भनिने श्रेष्ठ, राजु मास्टर भनिने राजु पौडेल, म्याकुरी नामबाट चिनिएका पवन खतिवडा, एलिस राई, जलन घर्तीमगर, गणेश देवकोटा, ढेडु बुढो नामले परिचित सरोज घिमिरे, भटभटे माइलाको नामले चिनिने बेगम नेपालीविरुद्ध मुद्दा दर्ता गरेको हो । प्रहरीले एक वर्षसम्म जेल र १० हजार जरिवाना हुनुपर्ने माग दाबी समेत गरेको छ । कलाकार कुशल पोखरेल भने फरार छन् ।
अवैध वान एक्स बेटको विज्ञापन गरेको आरोपमा प्रहरीले उनीहरुलाई जेठ ३२ गते पक्राउ गरेको थियो । प्रहरीले एक पटक विज्ञापन बजाएको २० हजार रुपैयाँसम्म लिने गरेको अभियोगपत्रमा उल्लेख गरेको छ ।
प्रहरीको दाबीलाई अदालतले सदर गरेमा एक वर्षसम्म जेलमै बस्नु पर्नेछ । अदालतले जरिवाना तिराएर छोड्न आदेश दिने सम्भावना रहेको कानुन व्यवसायीहरु बताउँछन् ।
कलाकारहरूलाई सट्टेबाजीको विज्ञापन दिने दिनेश खड्का र अनिता धिताललाई भने प्रहरीले नेपाल राष्ट्र बैंक ऐनअनुसार सात वर्षसम्म कैद गर्नुपर्ने माग गरिएको छ । खड्का र धितालसँग ६४ करोड ९४ लाख २९ हजार रुपैयाँ बिगो भराउनसमेत माग गरेको छ ।
प्रहरीले खड्का र धिताललाई जेठ ३० गते प्रहरीले काठमाडौं मैजुबहालबाट पक्राउ गरेको थियो । दुवै जनाले विभिन्न व्यक्तिको नाममा डिजिटल वालेट खोलेर कारोबार गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ । खड्का र धितालको बयानका आधारमा हास्य कलाकारहरू पक्राउ परेका थिए ।