काठमाडौं । यस वर्षको मनसुनबाट २२ जिल्लामा पहिरो र २१ जिल्लामा बाढी आउने अनुमान गरिएको छ । विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती जिल्लाका १२ लाख ५४ हजारभन्दा धेरै मानिसहरु प्रभावित हुनेछन् । अनुमान गरिएको छ ।
त्यसैगरी दुई लाख ८६ हजारभन्दा धेरै घरधुरीमा असर पर्ने अनुमान समेत गरेको छ । पहिलेका तथ्याङ्कअनुसार मनसुनबाट पहिरोको उच्च जोखिममा रहेका जिल्लाहरूमा इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, ओखलढुङ्गा, ललितपर, नुवाकोट, धादिङ, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, बाग्लुङ, प्युठान, रोल्पा, रुकुम पश्चिम, दैलेख, अछाम र बैतडी छन् ।
यसैगरी बारम्बार बाढीबाट प्रभावित हुने जिल्लाहरूमा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली र कञ्चनपुर छन् ।
मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना स्वीकृत समेत गरेको छ । विपद् जोखिमको प्रभावकारी प्रतिकार्यका लागि सबै सुरक्षा निकायअन्तर्गतका खोज उद्धार जनशक्ति र विभिन्न निकायअन्तर्गत रहेका विपद् उद्धार तथा राहतसँग सम्बन्धित स्रोत साधन यन्त्र उपकरण सात वटै प्रदेशमा तयारी अवस्थामा राखिएको छ ।
देशका ३४ ठाउँमा जोखिमको सूचना दिने स्मार्ट साइरन जडान, विपद् सामूहिक उद्धार गाडी तथा एम्बुलेन्सहरू खरिद गरी सात वटै प्रदेश र काठमाण्डौमा उपत्यकामा एक/एक वटा एम्बुलेन्स रहने व्यवस्था मिलाइएको पनि प्राधिकरणले जनाएको छ ।
नेपालमा बाढी, पहिरो र भारी वर्षा प्रमुख मनसुनजन्य विपद् हुन् । यसका साथै मनुसनको अवधिमा झाडापखाला, हैजाजस्ता पानीजन्य रोग, सर्पदंश, डेङ्गी, मलेरियाजस्ता किटजन्य प्रकोप बढ्ने गर्छन् ।