धनगढी । आज सुदूरपश्चिमा आम हड्ताल गरिएको छ । गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयनको माग गर्दै हड्ताल गरिएको हो ।
सरकारले २९ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णयलाई उल्ट्याउँदै आगामी वर्षको बजेटमा विश्वविद्यालय बनाउने घोषणा गरेको थियो ।
उक्त निर्णयको विरोधमा सुदूरपश्चिमबासी आन्दोलनमा उत्रिएका छन् । अर्थमन्त्री प्रकाशशरण महतले जेठ १५ गते संसदमा पेश गरेको बजेटमा विश्वविद्यालयको ठाउँमा प्रतिष्ठानका रुपमा अघि बढाउने र एक सय शैय्याको अस्पताल सञ्चालन गर्ने घोषणा गरिएका थिए ।
उक्त घोषणाविरुद्ध विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समिति गठन गरेर आन्दोलनका कार्यक्रम घोषणा गरिएको थियो । समितिले काठमाडौंमा पनि विरोधका कार्यक्रम गरेको थियो ।
हड्तालका कारण विहानैबाट सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाको जनजीवन प्रभावित भएको छ । राति छुटेका लामो सवारी साधानबाहेक अरु बन्द गरेको ट्राफिक प्रहरीले जनाएको छ ।
त्यसैगरी शैक्षिक संस्था, बजार व्यवसाय, यातायात पूर्णरुपमा बन्द छन् ।
सरकारले विश्वविद्यालय निर्माण गर्ने निर्णय नगरेसम्म आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने चेतावनी संघर्ष समितिले दिएको छ ।


अनलाइन डबली





