काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको पहलमा आजबाट भारत र थाइल्याण्डमा प्रयोग हुने रोमिङ सेवामा भारी मात्रामा घटेको छ । मन्त्री शर्मा भारत भ्रमणको क्रममा नेपाल टेलिकमको रोमिङ सेवा महंगो भएको भन्दै घटाउन पहल गरेकी थिइन् ।
त्यस्तै, थाइल्याण्डमा रोमिङ सेवाको महसुल महंगो भएको भन्दै गुनासो आएको थियो । मन्त्री शर्माको निर्देशनमा नेपाल टेलिकमले आफ्नो प्रिपेड तथा पोस्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुल दर घटाएको हो ।
घटाएको मूल्य आजबाट लागु भएको छ । अब टेलिकमको प्रिपेड तथा पोस्टपेड मोबाइल लिएर भारत जाने सेवाग्राहीले प्रतिमिनेट ७ रुपैयाँमै कुरा गर्न पाउने भएका छन् । यसअघि ३० रुपैयाँ तिर्दै आएका थिए ।
त्यसैगरी नेपाल वा अन्य देशको जुनसुकै नम्बरबाट आएको कल उठाउँदा पनि प्रति मिनेट रु. ७ लाग्ने छ भने एसएमएस गर्दा प्रति एसएमएस रु. ७ नै लाग्ने छ । यसअघि अन्य नम्बरबाट आएको कल उठाउँदा रु. १४ र एसएमएस गर्दा रु. २४ लाग्ने गरेको थियो ।
थाइल्याण्डमा नेपाल टेलिकमको प्रिपेड तथा पोस्टपेड मोबाइलबाट कुनै थाइल्याण्डमै भएको नम्बरमा कल गर्दा र नेपालमा भएको नम्बरमा कल गर्दा प्रति मिनेट रु. ५० मात्र लाग्ने छ । यसअघि यही सेवा प्रयोग गर्दा १३५ प्रतिमिनेट तिर्नुपर्ने बाध्यता थियो ।
त्यसैगरी कल उठाउँदा प्रति मिनेट रु. २५ र एसएमएस गर्दा प्रति एसएमएस रु. १० लाग्ने छ । यही सेवा यसअघि अन्य नम्बरबाट आएको कल उठाउँदा रु. ९० लाग्ने व्यवस्था छ । एसएमएस गर्दा प्रति एसएमएस रु. ३४ लाग्थ्यो ।
त्यसैगरी डाटा चलाउँदा हाल प्रति एमबी रु. ४० शुल्क भएकोमा अब प्रति १०० केबी ०.४९ पैसा मात्र लाग्ने छ । यसअनुसार प्रति एमबी करिव रु. ५ मात्र लाग्ने नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।