काठमाडौं । आज २५६७ औं बुद्धजयन्ती । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औं जयन्ती विशेष कार्यक्रम गरी मनाइँदैछ । विश्वभर रहेका वुद्धमार्गीहरुले आज बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाउँदै आएका छन् ।
सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणमा प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ ।
बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् ।
यसैक्रममा आज लुम्बिनीमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने उक्त कार्यक्रममा विश्वका वुद्धमार्गीको सहभागी हुने बताइएको छ । यसलाई विश्व वुद्ध सम्मेलनको रुपमा मनाउने लुम्बिनी विकास कोषले बताएको छ ।
सरकारले आज सार्वजनिक बिदा दिएको छ ।