काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीको निर्देशनमा पशुपति सरसफाइ सुरु भएको छ । तीन महिनासम्म चल्ने अभियानमा सबै सहभागी हुन उनले आग्रह समेत गरेका छन् ।
मन्त्री किरातीले आफैले कुँचो समाएर सरसफाइमा जुटेका थिए । उनले ठूलो मान्छेले काम गर्नै हुँदैन भन्ने मानसिकतालाई भत्काउन जरुरी रहेको बताए । उनले पशुपति क्षेत्र सफाइका लागि पशुपति क्षेत्र विकास कोषले योजना बनाएर बुझाउन निर्देशन दिए ।
शनिवारबाट सुरु भएको अभियान तीन महिनासम्म चल्नेछ । सफा रहनु सभ्यता प्रदर्शन गर्नु भएको उल्लेख गर्दै मन्त्री किरातीले आस्थाको केन्द्र पशुपतिनाथलाई सबै मिलेर सफा राख्नुपर्ने बताए । उनले पशुपतिनाथ नै फोहोर राख्ने हो भने देश सफा गर्न नसकिने बताए ।
सांस्कृतिक मूल्य र मान्यता हराउँदै गएको भन्दै किरातीले समाजसँग जोडिएको विकृतिलाई सफा बनाउनुपर्ने बताए ।
सो अबसरमा किरातीले आफूले मन्त्रालय अन्तर्गतका सबै निकायहरूलाई सबै क्षेत्रमा सफा राख्न निर्देशिका बनाएर पठाएकाले जानकारी गराउँदै काम नभए कारबाही गर्ने चेतावनी समेत दिए ।
अबको तीन महिनासम्म हरेक शनिवार ८ बजेदेखि १० बजेसम्म पशुपति सरसफाइ अभियान सञ्चालन हुनेछ ।
यसअघि बागमतीको सरसफाइ जारी रहेपनि अभियानात्मक रुपमा पशुपतिको सरसफाइ गरिएको थिएन ।


अनलाइन डबली

