
काठमाडौँ । नवलपरासीको बर्दघाट सुस्ता पश्चिम क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्रसेन ठकुरीले अग्रता कायमै राखेका छन्। ठकुरीले ७ हजार ३ सय ९१ मत प्राप्त गरेका छन्।
उनलाई नेपाली कांग्रेसका विनोद चौधरीले पछ्याइरहेका छन्। चौधरीले ६ हजार ८ सय ९० मत प्राप्त गरेका छन्। दुई बीच मतान्तर ५ सय १ छ। त्यस्तै जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले ५ हजार ५ सय ८९ मत प्राप्त गरेका छन्।
चौधरी पहिलोपटक प्रत्यक्ष तर्फ निर्वाचन लड्न नवलपरासी पश्चिम पुगेका हुन्। त्रिपाठीले विगतमा पाँच पटक निर्वाचन जितिसकेका छन्। यस्तै काठमाडौं क्षेत्र नम्बर ६ को पछिल्लो मत परिणाम प्राप्त भएको छ।
यहाँ अहिलेसम्म १८ हजार ८ सय ९४ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले ६८५६ मत ल्याएर अग्रस्थानमा छन्। उनको तुलनामा नेकपा एमालेका सर्वेन्द्र खनाल २६४६ मतले पछाडि छन्। सर्वेन्द्र खनालले ४२१० मत ल्याएका छन्।
त्यस्तै नेपाली कांग्रेसका भिमसेनदास प्रधान ४१९४ मत ल्याएर तेस्रो स्थानमा छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्णुप्रसाद आचार्यले ११४४ मत ल्याएका छन्।
उता राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापाकाे क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलासँग मतान्तर बढाउँदै गएका छन्। सुरूदेखि नै लिङ्देनले मतान्तर बढाउँदै लगेका हुन्।
जिल्ला समन्वय समितिको कार्यालय चन्द्रगढीमा भइरहेको पछिल्लो मतगणनाको परिणाम अनुसार २४ हजार १०९ मतपत्र गणना हुँदा लिङ्देनले १२ हजार ३१ मत प्राप्त गरेका छन्।
कांग्रेस नेता सिटौलाले भने ९ हजार २६४ मत प्राप्त गरेका छन्। लिङ्देनले सिटौलालाई २ हजार ७६७ मतले उछिनेका छन्। यता मकवानपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना) आफ्नो अग्रता राखेकी छिन्।
अहिलेसम्म २०,६७२ गणना हुँदा उपाध्यायले ८३६६ मत ल्याएका छन् भने नेकपा एमालेका कमल थापाले ६४१७ मत ल्याएका छन्। त्यस्तै राप्रपाका उम्मेदवार दिपक बहादुर सिंहले ३६०६ मत ल्याएर तेस्रो स्थानमा छन्।