काठमाडौँ । एक वटा मात्रै निर्वाचन क्षेत्र रहेको बाजुराको अवस्था दिनभरि तनावग्रस्त रह्यो । प्रहरीको गोली चल्दा एक जना युवाको मृत्यु भएको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले पुष्टि गरे ।
उनका अनुसार जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ स्थित मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोलीले सोही ठाउँका २६ वर्षीय सन्दीप ऐडीको मृत्यु भएको छ ।
झडपमा प्रहरी कर्मचारीहरू पनि घाइते भएका छन् । सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच विवाद बढपेपछि आइतबार दिनभरि तनावग्रस्त अवस्था रहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
प्रजिअ अधिकारीका अनुसार स्थितिलाई नियन्त्रणमा लिन नौ वटा स्थानीय तह रहेको बाजुरामा सबैजस्तो पालिका हवाई फायर गर्नुपरेको जानकारी दिए ।
त्रिवेणी नगरपालिका–१ स्थित नाटेश्वरी मतदानस्थमा अहिले पनि स्थानीयले घेरा हालेका छन् । उनीहरूको विवरण भने खुल्न बाँकी रहेको प्रजिअ अधिकारीले जनाए । घाइतलाई उपचारका लागि सुर्खेतमा ल्याएको छ ।
मतदान सकिने बेला विवाद भएपछि प्रहरीले गोली चलाएको थियो । एक जना स्थानीयले मतपेटिका खोस्न खोज्दा उत्पन्न विवादपछि झडप हुँदा प्रहरीले हवाई फायर गरेको बुझिएको छ ।
त्रिवेणी नगरपालिका–७ को नाटेश्वरी आधारभूत विद्यालय मतदानस्थलमा फर्जी मतको खसालेको विषयमा सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच विवाद भएको थियो ।
मतपेटिका खोसाखोस गरिरहेको अवस्थामा दुई पक्षीय झडपपछि प्रहरीले स्थितिलाई सामान्य बनाउन गोली चलाएको प्रशासनले जनाएको हो ।यस्तै स्याङ्जाको चापाकोट र गल्याङमा झडप र विवाद हुँदा प्रहरीले हवाइ फायर गरेको छ ।
चापाकोट नगरपालिका-१ को भानु मावि मतदान स्थलमा दलका प्रतिनिधिबीच विवाद हुँदा झडप नै भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन एक राउण्ड हवाइ फायर गरेको हो ।
यसैगरी गल्याङ-७ मनहरीखरणक मावि मतदानस्थलमा विवाद भएपछि भीड नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए । क्षेत्रीका अनुसार दुबै ठाउँमा मतदान लम्बिएकाे छ । दुबै ठाउँमा करिब डेढ घन्टा मतदान राेकिएकाे थियाे ।