
डोटी । डोटीको जोरायल-३ मा एक जना पुरुष मृत फेला परेका छन् ।
जोरायल गाउँपालिका-३ तोडेगडा घर भएका अन्दाजी ६० वर्षका हिरालाल ओली सोही गाउँपालिका -३ चन्कट्टे नजिकै सेरी बर्बरा खेतको बीच बाटोमा मृत भेटिएका उनका साला लालबहादुर थापाले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय जोरायलका प्रहरी नायब निरीक्षक गंगाराम टमाटा नेतृत्वको टोली घटनास्थल पुगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मृतकको शव नजिकै झोला सहितको प्लास्टिकको बोरा र नजिकै मदिराको बोत्तल भेटिएको छ । मदिरा सेवन गरि राति जाडोले कठ्याङ्ग्रिएर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
भारतको सिम्लामा काम गर्दै आएका ओली निर्वाचनमा मतदानका लागि घर फर्केका थिए । यसैबीच उता सोलुखुम्बुमा एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिएका छन् ।
जिल्लाको नेचासल्यान गाउँपालिका-४ स्थित फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय आज बिहान सुतेकै ठाउँमा मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुनिलजङ्ग शाहका अनुसार मतदान केन्द्रमै सुतेका रायलाई बिहान ४ बजे अन्य कर्मचारीले उठाउन जाँदा ओछ्यानमै मृत फेला पारेका थिए ।
घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षकको कमान्डमा प्रहरी घटनास्थलमा खटिएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लु पठाइएको नेचासल्यान गाउँपालिका उपाध्यक्ष विना राईले जानकारी दिइन् ।
सर्लाही हरिपुर्वा नगरपालिका-५ स्थायी ठेगाना भएका राय आयुर्वेद स्वास्थ्य केन्द्र नेचामा कार्यरत थिए । उनले लामो समयदेखि सुगर र मुटुको औषधि प्रयोग गर्दै आएका खुलेको छ ।