धनगढी । कैलालीमा सत्तारुढ गठबन्धनका उम्मेदवारको गाडीमाथि ढुंगा प्रहार गरिएको छ। बिहीबार कैलाली क्षेत्र नम्बर ४ का गठबन्धनका समानुपातिक तर्फका उम्मेदवारको गाडीमाथि ढुंगा प्रहार भएको हो।
प्रहरीका अनुसार गोदावरी नगरपालिका वडा नम्बर ३ स्थित चौकिडाँडामा राष्ट्रिय जनमोर्चा पार्टीका नन्दराज भट्टको गाडीमाथि आज बेलुकी ढुंगा प्रहार भएको हो। भट्टको गाडीमा ढुंगा प्रहारबाट सिसामा क्षति पुगेको छ।
६८६ नम्बरको मोटरसाइकलमा आएका दुई जनाले ढुंगा प्रहार गरेको भन्दै निवेदन परेको र उनीहरुको खोजी जारी रहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।
यता नवलपरासीमा मादक पदार्थ सेवन गरी विवाद गर्ने मतदान अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीले एक जना मतदान अधिकृतलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिए।
रामग्राम नगरपालिका-४ जितपुर घर भई पाल्हिनन्दन गाउँपालिकाको पशु शाखामा कार्यरत ५६ वर्षीय पृथ्वीराज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
उनी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको लागि सुनवल नगरपालिका-११ वाक्वाणी माध्यामिक विद्यालय सेमराहना मतदानस्थलमा मतदान अधिकृतको रूपमा खटिएका थिए।
उनले बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन सामग्री बुझ्ने बेलामा मुख्य निर्वाचन अधिकृतसँग अस्वभाविक व्यवहार देखाएर विवाद गरेको डिएसपी पाण्डेयले बताए।
उनलाई नियन्त्रणमा लिएर स्वास्थ्य परीक्षण गराउँदा मापसे गरेको खुलेको हो। उनलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ।
साथै मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट उनको सट्टामा वैकल्पिक मतदान अधिकृत नियुक्त गरेको छ।
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          

अनलाइन डबली


