घोराही । पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले दाङ निर्वाचन क्षेत्र नं २ मा गठबन्धनका साझा उम्मेदवार रेखा शर्माको जित सुनिश्चित भएको बताएका छन् । महराले प्रतिनिधिसभा र प्रदेश सभामा गठबन्धनका उम्मेदवारहरूको विजय निश्चित भएको बताएका हुन् ।
‘गत स्थानीय तहको निर्वाचनमा यो निर्वाचन क्षेत्रका २७ वटा वडाको मत विश्लेषण गर्ने हो भने गठबन्धन निकै अगाडि छ, स्थानीय तहको निर्वाचनको बेला भन्दा अहिले गठबन्धनको एकता थप मजबुत भएको छ’ महराले भने । महराले एमाले दाङका पुराना तथा इमान्दार नेता कार्यकर्ताहरूमा तीब्र असन्तुष्टि भएको उल्लेख गर्दै त्यो मत गठबन्धनका उम्मेदवारलाई आउने दावी गरे ।
आफू प्रतिनिधिसभाको प्रत्यक्ष तथा समानुपातिकको कुनै पनि उम्मेदवार नभएको उल्लेख गर्दै महराले नयाँ तथा युवा पुस्तालाई अवसर दिन आफूले त्याग गरेको बताए । ‘मैले लामो समय संसदीय र राजकीय भुमिका रहेर काम गरेको छु, अब अरू साथीहरूलाई अवसर दिनुपर्छ भनेर निर्वाचनमा नउठेको हुँ’ महराले भने । मुलुकको समृद्धि र प्रतिगमनका बिरूद्घ गठबन्धन भएको धारणा व्यक्त गर्दै महराले आम मतदाताले गठबन्धनलाई साथ दिने विश्वास व्यक्त गरे ।