काठमाडौं । आवेलन मितिका आधारमा कोरोना बीमा बापतको दाबी भुक्तानी गर्न बीमा समितिले निर्देशन दिएको छ । समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालका अनुसार बीमितले दिएको आवेदन मितिका आधारमा भुक्तानी गर्न बीमा कम्पनीलाई दिन निर्देशन दिइएको छ ।
भुक्तानीको लागि सरकारले १ अर्ब रुपैयाँ र बीमा क्षेत्रबाट ८१ करोड थप गरी १ अर्ब ८१ करोड रुपैयाँ आवेदन मितिलाई आधार बनाउन समितिले निर्देशन दिएको हो । सिलवालका अनुसार अहिले बीमितले कम्पनीहरूमा पेश भएको दाबी मितिको आधारमा भुक्तानी गर्दै जाने र बाँकी अर्को चरणमा गर्ने तयारी भइरहेको छ ।
सरकारबाट थप रकम निकासा भएपछि त्यसकै आधारमा क्रमश: भुक्तानी गर्दै जाने समेत बताए । भुक्तानी शुरू भएपछि बीमितहरूमा सकारात्मक सन्देश जाने भएकाले कम्पनीहरूलाई तत्काल रकम वितरण शुरू गर्न निर्देशन दिइएको हो । कोरोना बीमाको पैसा नै नपाउने हो कि भन्ने आशंका रहेको बेला यो तयारीसँगै ढिलोचाँडो पाइन्छ भन्ने सन्देश जाने समितिले विश्वास लिएको छ ।