काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ मा प्रतिनिधिसभा सदस्य पदमा २८ जनाले उम्मेदवारी दिएका छन् । ओलीसहित १४ जना विभिन्न दलबाट उम्मेदवार बन्दा अन्य १४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
झापा–५ मा एमाले अध्यक्ष ओलीका अतिरिक्त नेपाली कांग्रेसका खगेन्द्र अधिकारी, जसपा नेपालका ओममाया आङदेम्बे, नेमकिपाका रुद्रप्रसाद दाहाल, लोसपा नेपालका चन्द्रप्रसाद राजवंशी, जनमत पार्टीका भीम राजवंशी, मंगोल नेशनल अर्गनाइजेसनका सानबहादुर मेचे, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कविन्द्र शेर्मा लिम्बू, नेशनलिस्ट पिपल्स पार्टीका राजन चुडाल, राष्ट्रिय जनमुक्ति पार्टीका पदमबहादुर जवेगु, नेपाली कांग्रेस (बीपी) का सेखरनाथ सेडाइ, सचेत नेपाली पार्टीका रामप्रसाद पाठक र राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश कुमार पोखरेल उम्मेदवार छन् ।
यस्तै रेवती रमण खनाल, रोहित प्रसाद पौड्याल, कल्पना लावती, शान्ता अधिकारी, तिर्थेश्वर चौधरी, सिताराम पोख्रेल, भेषराज भट्टराई, विष्णुप्रसाद सिग्देल, केदारनाथ चापागाई, दिपककुमार पाठक, रामचन्द्र बानियाँ, तुलसीराम काफ्ले, सुलोचना राजवंशी र इन्द्रमणी दाहाल स्वतन्त्र उम्मेदवार छन् ।
यस्तै आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि सिरहा जिल्लामा राजनीतिक पार्टीभन्दा स्वतन्त्र उम्मेदवारको बर्चस्व रहेको छ ।
जिल्लामा चार सङ्घीय तथा आठ प्रदेशसभा निर्वाचन क्षेत्रबाट दुई सय २४ को उम्मेदवारी परेकामध्ये एक सय १९ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
स्थानीय तह निर्वाचनमा स्वतन्त्र उठेका उम्मेदवारले जितेको र उनीहरुले जनतामाझ गरेको काममा प्रभावित भएर यो निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारको सङ्ख्या बढेको आकलन गर्न सकिन्छ ।
तर स्वतन्त्र उम्मेदवार राजनीतिक पार्टीले जनताको भावनामाथि खेलबाड गरेकाले आफूहरूले स्वतन्त्र उम्मेदवारी दिएको उनीहरू दाबी गर्छन् । सिरहा क्षेत्र नं २ का स्वतन्त्र उम्मेदवार पत्रकार महासङ्घ सिरहाका पूर्वअध्यक्ष देवकुमार यादवले राजनीतिक दलबाट निर्वाचित भएका नेताले जनताको भावनाविपरीत दलीय दबाबमा परी जनताको हितमा काम नगरेकाले आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताए ।
उनले भने, “दलीय जनप्रतिनिधिले जनताको आधारभूत आवश्यकता पूरा गर्न नसकेकाले आफूले त्यो आवश्यकता पूरा गर्नका लागि उम्मेदवारी दिएको हु ।” आफ्नो चुनावी एजेण्डा नै जनताको आधारभूत आवश्यकता कृषि, स्वास्थ्य, शिक्षा र सरसफाइ रहेकाले दलीय प्रतिनिधिलाई नभएर स्वतन्त्रलाई नै रोज्न मतदातालाई आग्रह गरे ।
सिरहा क्षेत्र नं २ बाट नै प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका लेखक, समालोचक तथा पत्रकार रामरिझन यादवले दलहरू भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउँदै त्यही दलमा बसेर उनीहरुको विरोध गर्न नसकिने बताए । उनले भने, “एउटा कालखण्ड राजनीति पार्टीमा बिताएँ, दलभित्रै बसेर भ्रष्टाचारीको विरोध गर्न असम्भव भएकाले म स्वतन्त्र भए ।” ]
प्रतिनिधिसभाका चार निर्वाचन क्षेत्रका लागि जम्मा ८५ जनाले उम्मेदवारी दिएका छन् । तीमध्ये ४८ ले स्वतन्त्र उम्मेदवारी दिएका छन् । प्रदेशसभाको आठ निर्वाचन क्षेत्रका लागि एक सय १९ जनाले उम्मेदवारी दिएका छन् भने ७१ जनाको स्वतन्त्र उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सिरहाले जनाएको छ । प्रतिनिधिसभा र प्रदेशसभाका लागि सिरहाका १२ क्षेत्रमा राजनीतिक पार्टीको भन्दा करिब ५४ प्रतिशतले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
प्रतिनिधिसभाका लागि सिरहा क्षेत्र नं १ बाट २३ जनाको उम्मेदवारी परेकामध्ये १० स्वतन्त्र र १३ पार्टीका उम्मेदवार छन् । त्यसैगरी क्षेत्र नं २ मा २३ जनाको उम्मेदवारी परेकामा १५ स्वतन्त्र आठ मात्रै पार्टीबाट उम्मेदवारी परेको छ । त्यस्तै सिरहा क्षेत्र नं ३ बाट जम्मा २२ जनाको उम्मेदवारी परेकामा १४ स्वतन्त्र र आठ पार्टीका उम्मेदवार छन् । क्षेत्र नं ४ बाट १९ उम्मेदवारमध्ये नौ स्वतन्त्र र राजनीतिक दलका १० जनाले उम्मेदवारी दिएका छन् ।
प्रदेशसभा सदस्यका लागि क्षेत्र नं १ को (क) बाट १६ को उम्मेदवारी पर्दा छ स्वतन्त्र र १० पार्टीका उम्मेदवार छन् । (ख) बाट १४ उम्मेदवारमध्ये छ स्वतन्त्र र आठ पार्टीका उम्मेदवार छन् । सिरहा क्षेत्र नं २ को (क) बाट जम्मा १५ जनाले उम्मेदवारी दिएकामध्ये आठ स्वतन्त्र र सात पार्टीका उम्मेदवार छन् । (ख) बाट १६ जनाको उम्मेदवारी पर्दा नौ स्वतन्त्र र सात पार्टीका उम्मेदवार छन् ।
त्यसैगरी क्षेत्र नं ३ बाट प्रदेशसभा (क) का लागि १८ जनाले उम्मेदवारी दिँदा १३ स्वतन्त्र र पाँच पार्टीका उम्मेदवारी परेको छ । (ख) मा १४ जनामध्ये नौ स्वतन्त्र र पाँच पार्टीका छन् । क्षेत्र नं ४ (क) बाट जम्मा १८ जनाले उम्मेदवारी दिएकामध्ये १० स्वतन्त्र र आठ पार्टीका छन् भने (ख) मा १८ जनामध्ये ११ स्वतन्त्र र सात राजनीतिक पार्टीका उम्मेदवार छन् ।


अनलाइन डबली





