काठमाडौँ । युक्रेनको पूर्वी भागमा जनमतसंग्रहको लागि मतदान जारी रहेको छ । युक्रेनबाट अलग भएका डोनेत्स्क जनगणतन्त्र, लुगान्स्क जनगणतन्त्र, खर्सन र जापोरिजाका अधिकारीहरुले रुससँग मिल्ने वा नमिल्ने भन्दै जनमतसंग्रहको घोषणा गरिएका थिए । युक्रेनबाट अलग भएको घोषणासँगै त्यहाँ स्थानीय सरकार संचालन भइरहेको छ । रुसले डोनेट्स र लुहान्स्कलाई अलग राज्यको मान्यता दिइसकेको थियो ।
आफ्नो विशेष सैन्य कारवाही गर्नुको तीन दिन पहिले रुसले यी क्षेत्रलाई छुटै राज्यको मान्यता दिएको थियो । र यी क्षेत्रलाई युक्रेनी फौजबाट मुक्त गराउन भन्दै रुसले सैन्य कारवाही थालेको जनाएको छ । जनमतसंग्रहको लागि मतदान भइरहेका चार क्षेत्रमा रुसको सेनाले युक्रेनी फौजलाई लखेटेपछि छुटै स्थानीय सरकारको संचालनको भइरहेका छन् । त्यहाँ युक्रेनसँग लडिरहेका विद्रोही सेनालाई राज्यको सेना र अदालत पनि गठन गरिएका छन् ।
यी क्षेत्रमा शुक्रबारदेखि मंगलबार (सेप्टेम्बर २३ देखि सेप्टेम्बर २७) सम्म जनमतसंग्रहको घोषणा गरिएको थियो । यी चारैवटा क्षेत्रका प्रशासकीय प्रमुखहरूले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई अनुरोधपत्र पठाएको रुसी संचारमाध्यमहरुले जनाएका छन् । पत्रमा उनीहरूले जनमतसंग्रहको परिणाम आएलगत्तै ती भूमिहरू रुसमा मिसाउन अनुरोध गरेका छन् । यी क्षेत्रका रुसीभाषीहरूलाई युक्रेनी सेना र लडाकूहरूको आक्रमणबाट जोगाउने गरी जनमतसंग्रहको प्रबन्ध मिलाइएको रुसी सञ्चारमाध्यमहरूले खबर दिएका छन् ।
पहिलो चार दिन मानिसहरूले आफ्नै घरमा र मतदान केन्द्रबाहिर मत खसाउन पाउनेछन् । पाँचौं दिन चाहिँ सामान्य तरिकाले मतदान केन्द्रमा मत दिनेहरूका लागि छुट्ट्याइएको छ ।
डोनेत्स्क र लुगान्स्क एउटा र खर्सन र जाजोरिजामा अलग अलग प्रश्न सोधिएको छ । डोनेत्स्कको मतपत्रमा ‘तपाईं आफ्नो जनगणतन्त्रलाई रुसी महासंघमा मिसाएर रुसी प्रजा बन्न चाहनुहुन्छ ?’ र खर्सन र जापोरिजाको मतपत्रमा ः ‘तपाईं युक्रेनबाट अलग्गिएर आफ्नो क्षेत्रलाई स्वतन्त्र बनाउने अनि पछि रुसी महासंघमा मिसाउने विषयको पक्षमा हुनुहुन्छ ?’ यी प्रश्नहरू रुसी र युक्रेनी दुवै भाषामा राखिनेछ । यसमा अन्लाइन मतदानको व्यवस्था छैन ।
रुसी संसद्को तल्लो सदन डुमाका सभामुख भ्याचेस्लाभ भोलोदिनले डोनेत्स्क, लुगान्स्क, जापोरिजा र खर्सन क्षेत्रका मानिसको निर्णयलाई समर्थन गर्ने बताएका अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । रुसी सञ्चारमाध्यमहरूले जनमतसंग्रहको निष्पक्षताको अनुगमन गर्न रुसको केन्द्रीय निर्वाचन आयोग संलग्न रहको बताइएको छ ।
जनमसंग्रहको स्थानीय अधिकारीले गरेको सर्वेक्षणमा ९५ देखि ९९ प्रतिशत मनिसहरुले रुससँग मिल्ने पक्षमा मतदान गरेको बताइएको छ । मतदान केन्द्रमा उत्साहजनक सहभागीता रहेको छ । असुरक्षाका कारण मतदान केन्द्रमा जान नचाहने वा टाढैबाट मत व्यक्त गर्न पाइने व्यवस्था मिलाइएकाले मानिसहरु खुशी भएका छन् । यी क्षेत्रका प्रमुखले रुससँग मिलाउन अनुरोध गर्दै पठाएको पत्रबारे पुटिनले सम्मान गर्ने प्रतिक्रिया दिएका छन् । विज्ञहरुका अनुसार उक्त पत्रलाई पुटिनले स्वीकार गर्नेछन् र जनमतसंग्रहको नजितासँगै यी क्षेत्र रुससँग गाभ्ने प्रक्रिया सुरु हुनेछ ।
जनमतसंग्रहको घोषणा भएसँगै रुसी संसदमा देशको अपराध संहितामा संशोधन गर्ने प्रस्ताव पेश गरिएको छ । सेना परिचालन, सैन्य कानूनको बहाली तथा युद्धको समयमा स्वेच्छाले आत्मसमर्पण गर्ने, लुटपाटमा संलग्न हुने र सैन्य आदेशको पालन नगर्ने व्यक्तिको कैद सजाय अवधि संशोधित कानूनले बढाउने प्रस्ताव छ । यी कानुन संशोधनसँगै अब रुस विशेष सैन्य कारवाहीबाट एक कदम अघि बढेर युक्रेनविरुद्ध युद्धको घोषणा गर्ने स्थितिमा पुगेको विश्लेषकहरू बताउँछन् । किन भने संशोधित कानुनले यी क्षत्रमा हुने गतिविधि रुसविरुद्धमा हुने बताएको छ ।
युक्रेन सरकारले जनमतसंग्रहमा सहभागी नहुनका लागि दिएको चेतावनीको स्थानीयले बेवास्ता गरेका छन् । युक्रेनकी उपप्रधानमन्त्री इरिना भेरेश्चुकले जनमतसंग्रहमा सहभागी हुने युक्रेनीहलाई १२ वर्षसम्मको कैद सजायको व्यवस्था गरिएको चेतावनी दिएकी थिइन् ।