काठमाडौं । कम्युनिस्ट नेता तथा सामाजिक अभियान्ता कम्माने सुनारको मृत्यु भएको छ । अछामको पञ्चदेवल विनायक नगरपालिका-७ रिठा निवासी सुनारको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको हो ।
हृदयघात भएर काठमाडौं बाँसबारीस्थित शहिद गंगालाल हृदयराेग अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको छोरा सुरत सुनारले बताए । हृदयघातपछि उपचारको लागि अस्पताल भर्ना गरेर अप्रेशन गरिएको थियो ।
स्वास्थ्यमा सुधारपश्चात आइसियूबाट वार्डमा सार्ने तयारी भइरहेको बेला एकाएका स्वासप्रश्सासमा समस्या उत्पन्न भएपछि भेन्टिलेटरमा सारेर उपचार गर्दा पनि बचाउन नसकेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
नेकप एकीकृत समाजवादीका नेता समेत रहेका सुनारले कम्युनिस्ट आन्दोलनमा निरन्तर लागेर अन्याय,अत्याचारको बिरुद्ध आवाज उठाउँदै आएका थिए । उनले आस्था र निष्ठामा विश्वास गर्दै आएका थिए ।
सुनारको मृत्युप्रति विभिन्न व्यक्तिहरुले दुःख व्यक्त गरेका छन् । त्यसैगरी प्रदेशसभा सदस्य तथा नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश उपाध्यक्ष अक्कल रावलले दुःख व्यक्त गर्दै सुनारको मृत्युले सुदूरपश्चिम प्रदेशको कम्युनिस्ट आन्दोलनमा क्षति पुगेको बताएका छन् । उनको व्यवहार र वर्गप्रतिको प्रतिबद्धताले नयाँ पुस्ताको लागि प्रेरणादायी हुने उपाध्यक्ष रावलले बताए ।