काठमाडौँ । ताइवान मामिलामा अमेरिका र चीन आमनेसामने भएका छन् । अमेरिकी सभामुख न्यान्सी पेलोसीको भ्रमणप्रति प्रतिक्रिया स्वरूप चीनले ताइवानबाट १६ किलोमिटर मात्र टाढा रहेको समुद्र वरपर सैन्य अभ्यास घोषणा गरेको छ।
आजदेखि सुरु हुने पाँच दिन लामो अभ्यास विश्वका केही व्यस्त जलमार्गहरूमा समेत हुनेछन्। चिनियाँ जनमुक्ति सेनाले त्यसमा ‘लामो दूरीको प्रत्यक्ष गोलाबारी’ समेत हुनेछ।
ताइवानले आफ्नो आकाशमा २७ चिनियाँ लडाकु विमान प्रवेश गरिसकेको जनाएको छ । चीनले यो अभ्यास विश्वका केही व्यस्त जलमार्गहरूमा हुने र यस अवधिमा ‘लामो दूरीको गोलाबारुद’ प्रहार गरिने जनाएको छ ।
ताइवानले यस अभ्यासबाट बच्न जहाजहरूलाई वैकल्पिक मार्गहरू खोज्न आग्रह गरेको छ । यससँगै छिमेकी मुलुक जापान र फिलिपिन्ससँग वैकल्पिक हवाई रुटका लागि पनि छलफल भइरहेको छ ।
चीनको चेतावनीको बाबजुद न्यान्सी पेलोसी मंगलबार ताइवान पुगेकी थिइन् । उनी बुधबार ताइवानका राष्ट्रपति साइ इङ वेनलाई भेटेर अमेरिका प्रस्थान गरेकी छन् । यस्तो अवस्थामा त्यसको बाछिटा नेपालसम्म आउँछ कि आउँदैन भन्नेबारे कूटनीतिक वृत्तमा चर्चा हुन थालेको छ ।
चीन नेपालको निकट छिमेकी मुलुक हो भने अमेरिकासँग नेपालको कूटनीतिक सम्बन्ध ७५ वर्ष पुरानो भइसकेको छ । ती दुवै शक्ति राष्ट्रबीच द्वन्द्व बढेको अवस्थामा नेपाल त्यसबाट अछुतो रहन नसक्ने कूटनीतिक मामिलाका जानकार बताउँछन् ।
चीनको चेतावनीका बाबजुद अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि अमेरिका–चीन सम्बन्ध थप चिसिएको मात्र होइन, ताइवानको वरिपरि चीनले सैन्य अभ्यासमार्फत पावर प्रदर्शन गरिरहेको छ ।
रुस र युक्रेनबीच युद्ध चलिरहेको समयमा अमेरिका र चीनबीच बढेको पछिल्लो तनावपूर्ण घटनाक्रमले विश्व समुदायलाई चिन्तित तुल्याएको छ । चीनको निकट छिमेकी मुलुक भएको नाताले चीन–अमेरिका द्वन्द्वले स्वाभाविक रूपमा नेपालमा भू–राजनीतिक प्रभाव पार्ने कूटनीतिक क्षेत्रका ज्ञाता बताउँछन् ।
चीनका लागि पूर्व नेपाली राजदूत टंक कार्की यस्तो अवस्थामा नेपालले तटस्थता अपनाउनु नै उत्तम उपाय हुने तर्क गर्छन् । ‘हाम्रोजस्तो मुलुकले निर्वाह गर्नुपर्ने भूमिका भनेको तटस्थता नै हो,’ उनले भने, ‘असंलग्नताको आदर्शमा जति बढी प्रतिबद्ध भयो, दीर्घकालीन रूपमा त्यति बढी लाभ हुन्छ ।’
उनका अनुसार अहिले छद्म युद्धको तयारीमा लामबन्दी सुरु भएको छ । ‘पश्चिमा शक्तिहरू आफ्नो अतीतको पोजिसन स्थापित गर्न खोज्ने, बहुध्रुवीय शक्तिहरू भने त्यसबाट पिण्ड छुटाउन कोसिस गरिरहेका छन्,’ उनले भने, ‘यो रस्साकस्सीमा हामीजस्ता राष्ट्रलाई तान्न कोसिस भइरहेको ५–६ महिनादेखिका घटनाक्रमले देखाइरहेका छन् ।’
उनले कहीँ न कहीँ ‘सनफ्रान्सिस्को कन्फ्रेन्स’ को अर्को शृङ्खला नभईकन अहिलेको ‘वर्ल्ड अर्डर’ स्थापित हुन्छजस्तो आफूलाई नलागेको बताए । संयुक्त राष्ट्रसंघजस्ता विश्व ‘गभर्निङ बडी’ हरू निरर्थक भइरहेको अहिलेको अवस्थामा ‘वर्ल्ड अर्डर’ स्थापित गर्न र मानव जातिले त्यसको लाभ लिन अर्को ‘सनफ्रान्सिस्को कन्फ्रेन्स’ नभई यो परिस्थिति साम्य होलाजस्तो आफूलाई नलागेको उनले बताए ।
‘दुई महाशक्ति राष्ट्रबीच यस्ता द्वन्द्व हुन्छ भने त्यसको प्रभाव स्वाभाविक रूपमा नेपाललाई पर्छ,’ उनले भने, ‘त्यसमा पनि चीन हाम्रो छिमेकी मुलुक हो । रुस र युक्रेनबीचको युद्धको प्रभाव त यहाँसम्म परेको छ भने चीन र अमेरिकाबीच त्यस्तो भएको अवस्थामा नेपाल अछुतो रहन्छ भन्ने हुँदैन ।’
रुस–युक्रेन युद्धको प्रभाव विश्व अर्थतन्त्रमा देखा परिसकेको तर्क गर्दै उनले युरोपमा ११ प्रतिशत मानिसले एक छाकमात्र खान थालेको समाचार प्रकाशमा आइरहेको बताए । युरोपमा यसको प्रभाव अझ बढ्ने खतरा देखिएको उनको भनाइ छ ।
यही अवस्थामा चीन र अमेरिका आमनेसामने हुँदा विश्व अर्थतन्त्र थप नराम्ररी प्रभावित हुने उनको आकलन छ । त्यसबाट स्वाभाविक रूपमा नेपाल अछुतो रहन नसक्ने उनले बताए ।
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          

अनलाइन डबली





