विराटनगर । नेकपा एमालेका नेता तथा प्रदेश १ का पूर्वमन्त्री हिक्मत कार्कीको घर अगाडि बम फेला परेको छ ।
आज बिहान करिब साढे ५ बजे झापाको गौरादह नगरपालिका–३ गौरादह बजारमा रहेको कार्कीको घर अगाडि प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको प्रहरीले पुष्टि गरेको छ।
प्रेसर कुकरमा तार बेरेर राखेको अवस्थामा भेटिएको शंकास्पद वस्तु निष्कृय पार्न नेपाली सेनाको टोली पुगेको छ । त्यहाँ इलाका प्रहरी कार्यालय दमकको टोली पनि पुगिसकेको छ ।
घर अगाडि शंकास्पद वस्तु भेटिएपछि प्रहरीलाई खबर गरिएको कार्कीले बताए । ‘घर अगाडि बिहान साढे ५ बजेतिर शंकास्पद वस्तु रहेको थाहा भयो,’ उनले भने, ‘म त घरमा थिइनँ, शंकास्पद वस्तु भेटिएपछि प्रहरीलाई खबर गरिएको छ ।’
करिब ४ बजेतिर लाइट नबाली आएको एउटा मोटरसाइकलमा चढेका व्यक्तिले शंकास्पद वस्तु राखेर गएको हुनसक्ने उनले अनुमान गरे । ‘करिब ४ बजेतिर लाइट नबाली एउटा मोटरसाइकल आएको रहेछ,’ उनले भने, ‘त्यही मोटरसाइकलमा आएकाले राखेको हुनसक्छ ।’
उनले फेसबुकमा शंकास्पद वस्तुको तस्वीर राख्दै लेखेका छन्, ‘किन, कसले हो ? छिट्टै अनुसन्धान हुनेछ । अहिले जिल्ला प्रशासन झापाको नेतृत्वमा नेपाली सेनाद्वारा निष्क्रिय पार्ने तयारी हुँदैछ ।’