आज :

माधव नेपालले नयाँ मन्त्रीहरुको नाम पठाएपछि सत्ता गठबन्धनले गर्यो बेग्लै निर्णय, क-कसलाई लाग्यो झट्का ?

  • अनलाइन डबली

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ का सांसद जीवनराम श्रेष्ठको फेसबुक वालभरि हिजोदेखि बधाईको ओइरो छ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनाउन लागेको समाचार छापिएसँगै उनलाई बधाई आउन थालेको हो।

आइतबार सकिएको एकीकृत समाजवादीको बैठकले ६ महिना पूरा भएका मन्त्रीहरूलाई फिर्ता बोलाउने र उनीहरूको ठाउँमा नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो। नयाँ मन्त्री छान्ने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिइएको थियो।

एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य मेटमणि चौधरीले आफूसहित शेरबहादुर कुँवर, जीवनराम श्रेष्ठ मन्त्री बन्न लागेको जानकारी दिएका थिए। नयाँ मन्त्रीहरूको नाम अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेको उनले बताएका थिए।

आइतबार अबेर भइसकेको र सार्वजनिक बिदा पनि भएकाले नयाँ मन्त्रीहरूको सपथ सोमबार हुने आँकलन गरिएको थियो। सोमबार बिहान कार्यालय समय सुरू भइसक्दा पनि राष्ट्रपति कार्यालय शितल निवासमा नयाँ मन्त्रीको सपथको कुनै सुरसार नै भएन।

राष्ट्रपति कार्यालयका अधिकारीले प्रधानमन्त्री देउवाले मन्त्री नियुक्तिका लागि कुनै सिफारिस नपठाएको बताएका थिए। यता प्रधानमन्त्री देउवाको सचिवालयले भने एकीकृत समाजवादीले मन्त्री फेर्न लागेको लिखित जानकारी नै नदिएको बतायो।

आजै बिहान सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा बस्यो। उक्त बैठकमा प्रधानमन्त्री देउवाले बजेट पारित नभएकाले अहिले मन्त्री फेर्न नहुने कुरा राखेका थिए।

बैठकमा सहभागी जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले गठबन्धनमा तत्काल मन्त्री परिवर्तन नगर्ने निर्णय गरेको बताए। ‘तत्काल मन्त्री परिवर्तन नगर्ने, अलि पछि गर्ने भन्ने कुरा भएको छ,’ यादवले भने।

सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकअघि एकीकृत समाजवादीका मन्त्रीहरूले प्रधानमन्त्री देउवालाई भेटेका थिए। एकीकृत समाजवादीबाट अहिले विरोध खतिवडा, रामकुमारी झाक्री, प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठ मन्त्री छन्।

सोमबार दिउँसो स्वास्थ्य मन्त्री खतिवडाले मन्त्री फेर्ने कुरा बजारको हल्ला मात्रै भएको टिप्पणी गरे। ‘बजेट सेसन चलिरहेको बेला बजेट पेश गरेको सरकार, बजेट पेश गर्ने मन्त्री फेर्ने कुरा विश्वमै नहुने कुरा हो। यहाँ कसरी हुन्छ? बजारको हल्ला बजारमै सकिएन र भन्या। कहीँ नभएको जात्रा हाँडीगाउँमा कसैले गर्छ र भन्या, गर्दैन नि,’ खतिवडाले भने।

मन्त्री हुन तम्तयार भएका एकीकृत समाजवादीका नेताहरूले भने गठबन्धन दलका नेताहरूका कारण तत्काल मन्त्री बन्न नपाएको बताएका छन्।

दाङ निर्वाचन क्षेत्र नं. ३ का संघीय सांसद तथा स्वास्थ्य राज्य मन्त्री बन्न लागेका हिराचन्द्र केसीले केहीबेरअघि माधवकुमार नेपाल कुरा नमिले पछि बालुवाटारबाट निस्किएको भन्ने सूचना पाएको बताए।

‘माधव कमरेडले आजै सपथका लागि राष्ट्रपतिलाई पत्रचार गर्नुहोस् भन्नुभएछ र जवाफमा प्रधानमन्त्री देउवा र प्रचण्ड कमरेडले तत्कालका लागि रोक्न आग्रह गर्नु भएको कुरा मैले सूचना पाएको छु,’ एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत रहेका केसीले भने, ‘अब के हुन्छ भन्ने कुरा अझै टुंगो छैन। सपथ कहिले हुन्छ भनेर अध्यक्षसँग थप कुरा भएपछि मात्रै भन्नु राम्रो होला।’

शहरी विकास मन्त्री बन्न लागेका दाङ क्षेत्र नं. १ का सांसद एवं एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य मेटमणि चौधरीले पनि सपथ कहिले हुन्छ भन्ने कुरा एकीन भइनसकेको बताए ।

उनले जनता समाजवादी पार्टीले पनि मन्त्री परिवर्तन गर्न लागेको हुँदा उनीहरूले यो विषय टुंगो लगाउनासाथ सपथ हुने बताए। पार्टीबाट यसअघिका मन्त्री फिर्ता बोलाइसकेको हुँदा छिट्टै मन्त्रिमण्डल हेरफेर हुने उनले विश्वास व्यक्त गरे।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal