पोखरा । मुस्ताङमा तारा एयरको जहाजका दुर्घटनामा ज्यान गुमाएकामध्ये २१ जनाको शव संकलन गरिएको प्रहरीले जनाएको छ । मुस्ताङ प्रशासनका अनुसार ज्यान गुमाएका २२ मध्ये अब एक जनाकाे मात्रै शव निकाल्न बाँकी रहेको छ । हिजो काठमाडौं ल्याएका बाहेक अरु शवहरु उद्दार गरी दुर्टना क्षेत्रबाट बाहिर निकालिएपनि मौसम खराब भएका कारण काठमाडौं ल्याउन सकिएको छैन ।
प्रहरीका अनुसार भेटिएकामध्ये खोंचमा देखिएको एउटा शव उद्धार गर्न नसकिएको मुस्ताङ प्रशासनले जनाएको छ भने एउटा शव भेटिएको छैन । उद्धार गरिएका अन्य १० शव खराब मौसमका कारण सोमबार घटनास्थलमै राखिएको छ ।
आइतबार बिहान पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको जहाज सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको सिरानमा पर्ने सानो सरेभीरमा दुर्घटनाग्रस्त अवस्थामा करिब १९ घण्टापछि भेटिएको थियो । दुर्घटना स्थलबाट १० शव सोमबार दिउँसो काठमाडौं ल्याइएको थियो ।
शव संकलन भए पनि यात्रुको पहिचान हुन सकेको छैन । खराब मौसमका कारण दुर्घटनास्थलमा हेलिकोप्टर अवतरण गराई शव उठाउन नसकिएपछि उद्धारकर्ताले शव बोकेरै तल कोवाङ बस्तीमा झारेका थिए । शवको उद्धार भइरहेका बेला हिउँ र पानीसमेत परेको थियो । घटनास्थलबाट कोवाङ बस्तीमा आउन पैदल ४ घण्टा लाग्छ । खोज तथा उद्धारमा सेना, सशस्त्र र नेपाल प्रहरीका ६० बढी सुरक्षाकर्मी खटिएका थिए ।
अहिले घटनास्थलमा १४ सैनिक र प्रहरी टेन्ट टाँगेर बसेका छन् । उनीहरू खोज र उद्धारकर्मी हुन् । मौसमअनुकूल भए उद्धार गरिएका शवलाई राति नै तल झार्ने योजना रहे पनि मौसम नसुध्रिएपछि घटनास्थलमै राखिएको प्रजिअ शर्माले बताए । उनीहरू मंगलबार बिहानैदेखि हराइरहेका एक जना र खोंचमा रहेको शवको उद्धारमा जुट्नेछन् । सोमबार बिहानपख मौसमले केही समय साथ दिएकाले उद्धारमा सहज भएको थियो ।
गत कात्तिक २८ गते हिम पहिरो गएकै क्षेत्रमै विमान दुर्घटना भएको थियो । पोखराबाट ९ः५५ बजे जोमसोङको लागि उडेको विमान सम्पर्कविहीन बनेको थियो । विमान खोज्न हेलिकोप्टर प्रयोग गरेपनि पत्ता लगाउन सकिएको थिएन । सोमबार बिहान ७ बजेतिर यार्चागुम्बा टिप्न गएका बागलुङका विशाल घर्तीले घटनास्थल देखेर प्रहरीलाई खबर गरेका थिए । सोमबार ल्याएका शवहरुको पोष्टमार्टमको लागि शिक्षण अस्पताल महाराजगन्ज पुर्याइएको छ ।