काठमाडौँ । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता अझै फराकिलो बनाएका छन्। पछिल्लो मतपरिणाम अनुसार १ लाख १६ हजार ८ सय ८५ गणनामा शाहले ४१ हजार २ सय ७९ मत पाएका हुन्।
उनले दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई १७ हजार ४ सय २४ मतले पछि पारेका छन्। सिंहले २३ हजार ८५५ मत पाएकी छन्।
यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २३ हजार २४ मत पाएका छन्। स्थापित सिंहभन्दा ८३१ मतले पछि परेका छन्। ३२ वडा रहेको काठमाडौं महानगरमा १५६ वडाको अन्तिम परिणाम आइसकेको छ।
यस्तै काठमाडौं महानगरपालिकाको उपमेयर पदमा मात्रै ३६ हजार भन्दा धेरै मत बदर भएको छ। काठमाडौं महानगरपालिकाले अहिलेसम्म १ लाख ६ हजार ५१६ मत गणना गरेको छ। तर अहिलेसम्म उपमेयरका सबै उम्मेदवारले जम्मा ६९ हजार ८८६ मत मात्र प्राप्त गरेका छन्।
सबैभन्दा धेरै मत प्राप्त गर्ने नेकपा एमालेकी सुनिता डंगोलले उपमेयरमा ३८ हजार ३५१ मत प्राप्त गरेकी छिन्। त्यसपछि दोस्रो स्थानमा रहेका नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १३ हजार ४३१ मत पाएका छन्।
राप्रपाकी बिनिता मगैयाले ७ हजार २३, विवेकशील साझाकी कीर्ति कंसाकारले १ हजार ६७५, नेमकिपाकी सविता श्रेष्ठले ११२ मत प्राप्त गरेका छन्। दुई स्वतन्त्र उम्मेद्वार लौरोका बेन्जी सिंह महर्जनले ४ हजार ८ र आँखिझ्यालकी उम्मेदवार विद्या श्रेष्ठ महर्जनले ४ हजार ५१४ मत पाएका छन्। त्यसबाहेक अन्य स्वतन्त्र उम्मेदवारले पाएको कुल मत ७७२ मात्र छ।
काठमाडौंको मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको तथ्यांक केलाउने हो भने उपमेयर पदमा मात्र हालसम्म ३६ हजार ६३० मत बदर भएको देखिन्छ।
काठमाडौं महानगरमा १ लाख ९१ हजार मत खसेको छ। यसरी हेर्ने हो भने बदर मत संख्या अझै बढ्ने देखिन्छ। काठमाडौंमा अहिलेसम्म १४ वटा वडाको मतगणना सम्पन्न भएको छ। ३२ वटा वडा रहेको काठमाडौंमा अहिले ९ वटा वडाको मतगणना जारी छ।