कैलाली । विभिन्न पार्टी परित्याग गरी दर्जनौं नेता कार्यकर्ताहरु नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मा समाहित भएका छन् । चुनवाको उपयोगबारे भएको विवादसँगै विप्लव नेतृत्वको नेकपा विभाजन भएको थियो । विप्लव संसदीय व्यवस्थामा फर्किएको भन्दै नेता धर्मेन्द्र बास्तोलाको नेतृत्वमा नेकपा (बहुमत) पुनर्गठन गरिएको थियो ।
बहुमतले देशभर अभियान संचालन गर्ने निर्णय गरेको छ । स्थानीय तह निर्वाचनलाई उपयोग गर्नु संसदीय भाषमै जानु भएको भन्दै बहुमत चुनाव उपयोगको विपक्षमा उभिएको थियो । यही विवाद पार्टी फुटमा पुगेको हो ।
चुनाव उपयोगको नतिजा सोचेजस्तो नआएपछि विप्लव नेकपाले नयाँ कार्यनीति बनाउनेबारे छलफल सुरु गरेकै बेला नेता कार्यकर्ताहरु बहुमततिर ढल्किन थालेका छन् । चुनावमा सहभागीहरु भएका अधिकांश उम्मेदवारको धरौटी समेत बचेन ।
यसैबीच शुक्रबार कैलालीमा एक कार्यक्रमबीच विप्लव नेकपासहित विभिन्न पार्टी परित्याग गरी दर्जनौं नेताहरु नेकपा बहुमतमा प्रवेश गरेका छन् । उनीहरुले अबको क्रान्तिकारी शक्ति भनेकै बास्तोला नेतृत्वको नेकपा भएकोले आफूहरु समाहित भएको बताएका छन् ।
नव प्रवेशीलाई स्वागत गर्दै नेकपा बहुमतका युवा नेता झलक बिकले विप्लव, प्रकाण्ड पनि घुमाईफिराई संसदीय व्यवस्थामै फर्किएकाले आफूहरुले वि द्रोह गरेको बताए ।
उनले विप्लवले अगाडि सारेको एकीकृत जनक्रान्तिको कार्यदिशा असफल भइसकेको भन्दै अब त्यो बाटोबाट परिवर्तन सम्भव नभएको बताए । कार्यक्रममा बोल्दै बिकले सम्पूर्ण देशभक्त, क्रान्तिकारी शक्तिहरुलाई नेकपा (बहुमत)को नेतृत्वमा अघि बढ्नु पर्ने बताए । तत्कालिन नेकपा कैलालीले चुनाव उपयाेग नगर्ने निर्णय गरेकाे थियाे ।
विप्लव नेकपाले रोल्पामा नेपाली काँग्रेस, नेकपा एमाले, राप्रपासँग मिलेर नेकपा माओवादी केन्द्रविरुद्ध चुनावी गठबन्धन गरेको थियो । थवाङसहित रोल्पाका दुई पालिका जित्ने दाबी सहित चुनावमा हाम फालेको नेकपाले निरासाजनक नतिजाको सामना गर्नु परेको छ ।
महासचिव विप्लवको गृहनगरमै नतिजा निरासाजनक आएको छ । विप्लव शिवराज नगरपालिकाको मेयरमा पुरानो नेता भेषराज भुसाललाई चुनावी मैदानमा उतारेका थिए । तर, उनले पाँच सय पनि कटाउन सकेनन् ।
त्यस्तै, प्रवक्ता प्रकाण्डले लामो तयारी गरेपनि आफ्नै वडामा समेत आफ्ना उम्मेदवारलाई जिताउन सकेनन् । कालिकोटमा दुुई जना केन्द्रीय सदस्यलाई चुनावमा लडेका थिए । नरहरीनाथ गाउँपालिकामा केन्द्रीय सदस्य एटम बिसी र रास्कोट नगरपालिकामा केन्द्रीय सदस्य धिरिन्द्रा उपाध्ययले पनि सम्मानजनक भोट ल्याउन सकेनन् ।
त्यसैगरी काठमाडौँमा विप्लव नेकपाले पुराना वामपन्थी लेखक तथा पत्रकार निमकान्त पाण्डेलाई मेयरमा उठाएको थियो । अहिलेसम्मको मत गणनामा उनले पाएको मतको कुनै हिसाबकिता सार्वजनिक भएको छैन् । विप्लव नेकपाले प्युठानमा वडामै चित्त बुझाउनु परेको छ ।