काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले नयाँ बर्ष २०७९ को अबसरमा शुभकामना दिएका छन् । देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको उत्तरोउत्त प्रगतिको कामना गर्दै प्रचण्डले नयाँ वर्षले नेपाली जनसमुदायमा आपसी मेलमिलाप, भातृत्व र राष्ट्रिय एकताको भावना विकास गराई सामाजिक न्याय सहितको समृद्धि हुँदै समाजवादको यात्रामा अग्रसर हुन प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।
प्रचण्डले शुभकामना सन्देशमा भनेका छन्, ‘नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै निर्माण गरिएको नयाँ संविधान कार्यान्वयनको क्रममा हामी दोस्रो पटक स्थानीय तहको निर्वाचन सम्पन्न गर्न गइरहेका छौं । संघीयतालाई जनताको घरदैलोसम्म पुर्याउने स्थानीय सरकार निर्माणमा जनताको उत्साहप्रद सहभागिताले वर्तमान राजनैतिक परिवर्तनलाई अझ बढी संस्थागत र समृद्ध तुल्याएको छ ।’
देश, लोकतन्त्र र संविधानका विरुद्ध देखापरेको प्रतिगमनकारी षडयन्त्रलाई चिर्दै मुलुक, लोकतन्त्र र संविधानको रक्षामा निर्माण भएको प्रतिगमन विरोधी वाम–लोकतान्त्रिक गठबन्धन देश र जनतालाई केन्द्रमा राखी स्थानीय तहको निर्वाचनमा होमिएको बताउँदै प्रचण्डले गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन समेत अपील गरेका छन् ।
यस्तो छ शुभकाना
नयाँ वर्ष वि. सं. २०७९ सालको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि सहित उत्तरोत्तर प्रगतिको कामना गर्दछु । नयाँ वर्षले नेपाली जनसमुदायमा आपसी मेलमिलाप, भातृत्व र राष्ट्रिय एकताको भावना विकास गराई सामाजिक न्याय सहितको समृद्धि हुँदै समाजवादको यात्रामा अग्रसर हुन प्रेरणा मिलोस् भन्ने कामना पनि गर्दछु ।
नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै निर्माण गरिएको नयाँ संविधान कार्यान्वयनको क्रममा हामी दोस्रो पटक स्थानीय तहको निर्वाचन सम्पन्न गर्न गइरहेका छौं । संघीयतालाई जनताको घरदैलोसम्म पुर्याउने स्थानीय सरकार निर्माणमा जनताको उत्साहप्रद सहभागिताले वर्तमान राजनैतिक परिवर्तनलाई अझ बढी संस्थागत र समृद्ध तुल्याएको छ ।
देश, लोकतन्त्र र संविधानका विरुद्ध देखापरेको प्रतिगमनकारी षडयन्त्रलाई चिर्दै मुलुक, लोकतन्त्र र संविधानको रक्षामा निर्माण भएको प्रतिगमन विरोधी वाम–लोकतान्त्रिक गठबन्धन देश र जनतालाई केन्द्रमा राखी स्थानीय तहको निर्वाचनमा होमिएको छ । लोकतन्त्र र संविधानको रक्षा गर्दै शान्ति र समृद्धिको यात्रामा देशलाई अगाडि बढाउने लक्ष्य बोकेको यस गठबन्धनलाई आगामी निर्वाचनमा आफ्नो अभिमत प्रकट गरी गठबन्धनका साझा उम्मेद्वारलाई विजयी गराउन पनि सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक अपील गर्दछु ।